नक्कली कागजात बनाएर सेटिङमा नेपालीहरुलाई भिजिट भिसामा विदेश पठाउने गरेको आरोपमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अध्यागमनका ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई रायसहितको प्रतिवेदन पेस गरेको थियो ।
मुद्दा दायर हुनेहरुमा विमानस्थल अध्यागमन कार्यालयका पूर्व अधिकृतहरु ताराबहादुर कुँवर अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागोविरुद्ध मुद्दा दायर भएको हो ।