काठमाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको एफ.जेड ५७३ अवतरण गर्यो । सोही विमानमा दुबईबाट एक नेपालीले सुन बोकेर आउँदै गरेको पूर्व सूचना विमानस्थल भन्सारलाई थियो ।
भन्सार र प्रहरीको टोली विमान अवतरण भएसँगै विशेष सूचना अनुसारै ति व्यक्तिलाई निगरानी गरिरह्यो । हातमा एउटा ब्याग समाएर आएका ति व्यक्तिलाई चेक गर्दा उनको साथबाट १४ किलो बराबरका ७ वटा सुनका बिस्कुट फेला परे ।
यसरी सुन बोकेर आएका व्यक्ति थिए गोरखा आरुघाटका चन्द्र घले । घलले ज्याकेट भित्र खल्ती हालिएको पातलो इस्टकोटमा सुन राखेका थिए । साथै जुत्तामा पनि सुन राखेका थिए ।
आफू पक्राउ परेपछि घलेले सुनका मालिक मीनबहादुर घले रहेको बयान दिए । प्रहरीले मिनबहादुरलाई पनि पक्राउ गरेको जनाएको छ । घले पनि गोरखाकै हुन् ।
पक्राउ परेका घलेलाई निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार महसुल छली तथा चोरी पैठारी कसुर गरेकाले थप अनुसन्धानका लागि कार्यालय खुलेसँगै त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा बुझाउने गरी प्रहरीको जिम्मा लगाएको छ ।