काठमाडौँ उपत्यकामा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि निरन्तर तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीमा झरेको छ । जसका कारण सर्वसाधारणलाई दैनिक रुपमा गर्नुपर्ने काम गर्न समेत असहज भएको छ । बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ ।
त्यस्तै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरोले ढाक्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।
तस्विर : फाेटाे लाइब्रेरी