काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलले उप सभामुखमाथि महाअभियोग लगाउने गरी गरेको तयारीप्रति विरोध जनाएका छन् । मङ्गलबारको संसद् बैठकको प्रारम्भमै समय माग गर्दै उनले सङ्ख्याको बलमा काँग्रेस र एमालेले लोकतन्त्रमाथि धावा बोले रास्वपा चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
राजनीतिक दलहरूले लोकतन्त्रको आदर्श मानिने संवैधानिक पदमाथि आक्रमण गर्न छलफल र वार्ता गरेको भन्दै उनले त्यो देश, लोकतन्त्र र स्वयम् ठूला भनिएका दलहरूका लागि पनि हितकर नभएको बताए ।
‘उपसभामुख हटाउने छलफल अमुक बैठकमा राजनीतिक दलहरू बसेर गरेको भन्ने मिडिया ट्रायल देखियो,’ सचेतक परियारले भने,‘ लोकतन्त्रमाथि मिडिया ट्रायल, यो भन्दा खतरा अर्को के हुन्छ । रास्वपाका लागि एउटा पद जाला, तर लोकतन्त्र माथिको सङ्ख्याको खतराको सार्वभौम जनताले प्रतिरोध गर्छन् । रास्वपा चुप बस्दैन ।’
संसारभर राज्य असफल हुनुको कारण शासकले राज्यका संरचनाहरू कमजोर बनाउँदै लगेका कारणहरू देखिएको भन्दै सचेतक परियारले नेपालमा पनि सोही अभ्यास भएको बताए ।