काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता पछि शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगाउन तीन सुझाव दिएका छन् ।
सिंहदबारमा पत्रकार सम्मेलनका क्रममा गुटेरेसले अन्तराष्ट्रिय मापदण्डको पालना, सर्वोच्च अदालतका आदेश कार्यान्वयन र पीडितको आवश्यकता पूरा गरी संक्रमणकालीन न्याय टुंगाउन सुझाएका हुन् । गुटेरेसले भने
संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ, संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ
गुटेरेसले शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको योगदानको प्रसंसा गरे । उनले भने नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो, बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ ।
उनले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रता मजबुत बनाउन आफू काठमाडौ आएको पनि बताए । साथै गुटेरेसले विगत बीस वर्षमा नेपालको प्रगति अचम्मको रहेको पनि बताए । उनले भने शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको छ, नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको छ ।
उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तराष्ट्रिय पहल आवश्यक रहेको बताए । उनले भने विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ । जलवायु परिवर्तनका कारण विगत तीस वर्षमा एक तिहाई हिँउ गुमाएको उल्लेख गर्दै हिमनदीहरु उच्चदरमा पग्लिु चिन्ताजनक रहेको बताए ।
उनले भने समुदायहरूमा यसको प्रभाव विनाशकारी छ र म हिमालयमा बस्ने स्थानीयहरूको कुरा सुन्न उनीहरूलाई भेट्नेछ । उनीहरू कसरी प्रभावित छ भनेर प्रत्यक्ष रूपमा बुझ्ने छु ।
साथै गुटेरेसले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको भ्रमण गर्ने बताए ।