काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले सडकमा रास्वपाका शुभेच्छुकहरुले सुशासनको नारा घन्काउन थालेपछि बालुवाटारका भित्ताहरू काम्न थालेको बताएका छन् । सभापति पक्राउको विरोधमा पोखरामा आयोजित विरोध सभामा बोल्दै ढकालले ३४ वर्षसम्म अवैध चन्दा असुली गरेर कार्यकर्ता पाल्न पल्केकाहरु युवा जागृत हुन थालेपछि थर्कमान भएको बताए । उनले देश लुटेर टाट पल्टाएका नेताविरुद्ध युवाहरु जाग्न थालेपछि त्रासले सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताए ।
उनले भने ‘३४ वर्षसम्म यो देश लुटेर टाट पल्टाएकाहरूले आज युवा जागेका थिए, ०८४ सम्म सम्झेर निदाउनै छाडेको उपज हो आजको दिन,’।
सांसद ढकालले यो देश प्रधानमन्त्री केपी शर्मा ओली र भाउजुहरुको मात्रै नभएको भन्दै राज्यसत्ताको चरम दुरुपयोग गरेर सभापतिलाई गिरफ्तार गरिएकोमा भत्र्सना गरे । उनले भने ‘राज्यसत्ताको चरम दुरुपयोग गरेर जसरी गिरफ्तारी गरिएको छ, त्यसको घोर निन्दा र भत्र्सना गर्न चाहन्छु। यो देश केपी ओलीको मात्रै होइन, यो देश भाउजुहरूको मात्रै होइन, तोसिमा र सोविताको पनि हो,’ ढकालले भने, ‘यो देश २९ वर्ष पहिला प्रधानमन्त्री बनेर ५ पटक प्रधानमन्त्री बनिसकेपछि राज्य दहन गरेर छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि लर्याङलर्याङ गर्नेको मात्रै होइन। मनिष झाहरूको पनि यो देश हो।’