वीरगंज । वीरगंजमा शुक्रबार गरिएको शान्तीपूर्ण प्रदर्शनमा रुपेशमानसिंह नेतृत्वको समूहले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार विज्ञप्ती जारी गर्दै आक्रमण गर्ने कार्यको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न समेत माग गरिएको छ ।
नागरिकता किर्ते गर्ने वीरगंज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही माग गर्दै वीरगंजमा निरन्तर बिरोध तथा प्रदर्शनहरु भइरहेका छन् । सोही क्रममा शुक्रबार नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो । तर उक्त प्रदर्शनमा रुपेशमान सिंह नेतृत्वको समूहले अवरोध गरेका कारण आफ्ना कार्यकर्ता घाइते भएको भन्दै नेपाली कांग्रेसले कारबाहीको माग गरेको हो ।
वीरगंज महानगरपालिकाको माइस्थान चोक अगाडि नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिको महम्मद शहाबुद्दिनको नेतृत्वमा निकालिएको मसाल जुलुस नगरपरिक्रमा गरेर कोणसभा गर्दै गर्दा मेयर सिंहका कार्यकर्ताले जबरजस्ती विवाद गर्न खोजेपछि दुवैतिरबाट मुठभेडको अवस्था सृजना भएको पर्सा प्रहरीले जनाएको छ ।
माइस्थानमा चोकमा पुगेर कार्यक्रम गरिरहेका बेला मेयर समर्थकहरूले मेयर सिंहको पक्षमा नाराबाजी गर्दै कार्यक्रम बिथोल्न थालेपछि हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए । उनका अनुसार मेयर सिंहका कार्यकर्ताले कोणसभा गरिरहेकै स्थानमा पुगेर विथोल्न खोज्दा प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई लखेटेको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।
मेयर सिंहले जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफै बाबु बनेर नागरिकता दिलाएका थिए । नागरिकता बनाउन मेयर राजेशमान सिंहले जन्मदर्ता, सिफारिस लगायतको कागजात किर्ते गरेको प्रमाणहरुले देखाएका छन् । सोही प्रकरणका कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ ।