काठमाडौँ । काठमाडौँमा महानगरपालिकाले गौशाला चोकमा अवैधरुपमा बनेका आधा दर्जन घर तथा टहरा भत्काएको छ । सडकको किनारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरामाथि महानगरले डोजर चलाएको हो ।
आइतबार बिहानै ३ ओटा डोजर लिएर पुगेको महानगरले हालका लागि भने ६ ओटा मात्रै घर टहरा भत्काएको छ । अघिकांश टिकट काउन्टर खडा गरिएका उक्त क्षेत्रमा महानगरले डोजर चलाएपछि व्यवसायीहरुले आक्रोशित बनेका छन् ।
अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन महानगरबाट यसअघि नै पटकपटक पत्राचार र सूचना गरिएको तर उक्त सूचना बेवास्ता गरेको भन्दै महानगरले डोजर चलाएको हो । ‘३५ दिनअघि अतिक्रमित संरचना हटाउन पत्राचार गरिएको र १५ दिनअघि पुनः संरचना हटाउन माइकिङ गर्दासमेत अटेर गरेपछि डोजर चलाउन बाध्य भएका हौँ’, नगर प्रहरी प्रमखु राजुनाथ पाण्डेले बताए ।
पाण्डेका अनुसार सडक विभाग को २०३५ को मापदण्डविपरित घर टहरा बनाइएका र हालसम्म पनि घर टहराको भाडा उठाएको पाइएपछि उक्त स्थानमा डोजर चलाइएको हो । पहिलो चरणमा ६ ओटा घर भत्काइएपनि आगामी दिनमा उक्त क्षेत्रमा ३० बढी अतिक्रमित संरचना हटाइने महानगरले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाह निर्वाचित भएसँगै महानगरले महानगरभित्र बनेका अवैध र फुटपाथ तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाइँदै आएको छ ।