काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कार्तिक १४ गते अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको कार्तिक १२ गतेदेखि १५ गतेसम्मको नेपाल भ्रमण कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार नै संघीय संसद् सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको र त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनका क्रममा संसद्मा संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत विभिन्न विशिष्ट व्यक्तिहरुलाई समेत संसदमा आमन्त्रण गरिने सचिवालयले जनाएको छ ।