काठमाडौँ । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको हो ।
हालसम्म दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ ३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, धनुषा सापही ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली ३ का राजन फुलारा, डोटी लामीखाल ८ का पदम थापा र सल्यान सारदा ३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त(३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।
आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्याउने व्यवस्था गरेको छ।