काठमाडौं । सवारी चालक अनुमतिपत्र साथमा नहुँदा तपाई कतिपटक कारवाहीमा पर्नुभएको छ ? अझ मोवाइलमा नागरिक एपमा सवारी चालक अनुमतिपत्रको फोटो देखाउँदा पनि ट्राफिकले हैरानी दिएका होलान् । अब भने यो तनावबाट केहि राहात पाइने भएको छ। किनकी तपाईले बोकेको मोवाइल फोनमा नागरिक एप डाउनलोड गरेर लाइसेन्सको विवरण राख्नुभएको छ भने ट्राफिकले तपाईलाई मान्यता दिने छन् । अर्थात लाइसेन्स नबोकेकै कारण चिट काट्नै छैन ।
नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो गर्न नपर्ने सरकारले जनाएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ ।
यो व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्नसमेत आग्रह गरिएको छ ।