काठमाडाैँ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बैंकका कार्यकारी निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरिएको छ ।
गत पुस २७ गते बैंकले नगरकोटमा आयोजना गरेको एक कार्यक्रमपश्चात रात्रिभोजको समयमा निर्देशक आचार्यले आफूलाई पछाडिबाट अंगालो हालेर यौन दुर्व्यवहार गरेको ति महिला कर्मचारीले आरोप लगाएका थिइन् ।
ठूलो संख्यामा सहकर्मीहरु भएको समयमा आफूमाथि दुर्व्यवहार हुँदासमेत उनीहरुले उल्टै आफूलाई दोष देखाएको र निर्देशक आचार्यको बचाउमा उत्रिएको भन्दै ति महिला कर्मचारीले आचार्यविरुद्ध गर्भनर महाप्रसाद अधिकारीसमक्ष लिखित उजुरी दिएकी थिइन् । उनले घटनामाथि छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गरेकी थिइन् ।
उनको उजुरीपश्चात छानबिन हुँदा आचार्य ति महिला कर्मचारीमाथि दुर्व्यवहार भएको खुलेसँगै मंगलबारबाट उनलाई सेवाबाट बर्खास्त गरिएको हो ।
उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो ।