काठमाडाैँ । आगामी बैसाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाममा सो दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त यातायातबाहेक अन्य यातायातका साधन सञ्चालन नगर्ने सहमति भएको छ । बिहिबार इलाम क्षेत्र नं २ मा हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न राजनीतिक दल एवं सरोकारवाला निकायबिच सहमती भएको हो ।
त्यस्तै इलामका सरोकारवाला र राजनीतिक दलबिच भएका सहमति यस्ता छन् :
आगामी २०८१ बैसाख १५ गतेका दिन यस जिल्लाको निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल एवं सरोकारवाला सबैले आवश्यक सहयोग, समन्वय र सहजिकरण गर्ने ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १७ र १८ ले निषेध गरिएका कार्यहरु मतदान कार्य सम्पन्न नभएसम्मका लागि सम्बन्धित सवैले पूर्णरुपमा पालना गर्ने
२०५१ बैशाख १५ गते मतदानको दिन विहान ५.०० बजे देखि साँझ ६.०० बजेसम्म अत्यावश्यक सेवाका र अनुमति प्राप्त सवारी साधन बाहेक इलाम जिल्लाभर मेची राजमार्ग लगायत अन्य सबै सहायक मार्गहरुमा सबै किसिमका सवारी साधनको आवागमन बन्द गर्ने । सो सूचना झापा, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई व्यवस्थापनमा सहयोग माग गर्ने ।
मिडिया हाउसको सिफारिसका आधारमा संचारकर्मीहरुलाई मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनको दिन सवारी साधन आवागमन अनुमति पत्र उपलब्ध गराउने र आवश्यक सवारी पास समेत मूख्य निर्वाचन अधिकृतको कार्यालय बाट उपलब्ध गराउने ।
मतदानको दिन हिँडडुल गर्न नसक्ने गर्भवती महिला, साथमा आफ्नै बच्चा बोकेकी महिला,किरियापुत्री, शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक लगायतलाई मतदान केन्द्रसम्म आउन र फर्कनको लागि सम्बन्धित मतदान केन्द्रबाट सर्वदलीय÷सर्वपक्षीय सहमतीका आधारमा सम्बन्धित मतदान अधिकृतबाट सवारी साधनको अनुमति पत्र उपलब्ध गराउने ।
जिल्ला सुरक्षा समितिका पदाधिकारी सहितको सहभागितामा निर्वाचन कमाण्ड पोष्ट जिल्ला प्रशासन कार्यालयमा रहने । उक्त कमाण्ड पोष्टमा राजनीतिक दल एवं उम्मेदवारका प्रतिनिधि सहभागी हुन इच्छुक भएमा सहभागी हुन पाउने