काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय र योजना’ प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उक्त प्रतिवेदन तयार भएको थियो । सभापति लामिछाने र उपसभापति वाग्लेले आज बिहान उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
उक्त प्रतिवेदनमा सहकारीमा पछिल्लो समय देखिएका समस्याका कारण र समाधानको उपायबारे उल्लेख गरिएको छ । जसमा सहकारी घरजग्गामा लगानी गर्ने प्रवृत्ति बन्द हुनुपर्ने, अनुत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बन्द गर्नुपर्ने, सहकारीको नियमन राष्ट्र बैंक अन्तर्गत ल्याउनुपर्ने, बचत फिर्ता गर्न नसक्ने अवस्थामा रहेका सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति विक्री गरी बचत फिर्ता गर्नुपर्ने लगायतका सुझावहरु दिइएको छ ।