काठमाडाैँ । काठमाडौँ महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सुरु गरिएको सीप मेलामा युवाहरुको घुइँचो लागेको छ ।
२०८१ सालको एक महिनामा २०८१ जनालाई नै सीपमूलक तालिम दिइने लक्ष्य राखेर सीप मेला सञ्चालन गरिएपनि हालसम्म १० हजार बढीले आवेदन दिइसकेका छन् । विभिन्न १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको उक्त मेला हाल ३ समूहमा संचालन गरिएको छ ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ महानगरले आयोजना गरेको एक महिने सो मेलामा मोबाइल, कम्प्युटर, प्लम्बिङ, हेयर कटिङ्ग, डिजिटल मार्केटिङ, ब्युटी ट्रेनिङ, टेलरिङ जस्ता विभिन्न क्षेत्रमा तालिम दिएको छ ।
छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने विश्वासका साथ सुरु गरिएको सीप मेलामा १८ वर्ष उमेर पूरा भएका र ५८ वर्ष ननाघेका व्यक्तिले सहभागी हुन पाउनेछन् ।
तालिमको अन्तिम दिन रोजगार मेला आयोजना हुने र सम्बन्धीत रोजगारदाताको स्टलमा गएर आफ्नो दक्षताका आधारमा रोजगार पाउन सकिने महानगरले जनाएको छ ।
थप भिडियाेमा :