काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार त्यसतर्फ गएका थिए । सोमबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीको स्वागतमा नेपाली सेनाले सम्मान गारत सलामी अर्पण गरेको थियो । भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए भने नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । त्यस्तै राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको जानकारी दिए ।
त्यस्तै सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुट्ने हल्ला फैलाएको भन्दै अहिलेको गठबन्धन पूरा अवधि चल्ने बताए । उनले संसद बिघटनका बिषयमा केपी ओलीले दिएको अभिव्यक्ति पुरानै धारणा रहेको भन्दै यसले समिकरणमा कुनै फरक नपर्ने उल्लेख गरे । प्रचण्डले गण्डकी प्रदेशमा फ्लोर क्रस गर्नेलाई कारवाही गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी भारत गएका थिए ।