काठमाडाैँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार ठहरिएका एक कर्मचारी मृत भेटिएका छन् । सुरक्षण मुद्रण केन्द्रले गरेको खरिदमा भ्रष्टाचारमा संलग्न भएको ठहरिएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
पोखरेलले लेखेको सुसाइड नोटसमेत उनको घरमा भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस्तै उनको शव बिहिबार नै केएमसी मेडिकल कलेज दुवाकोटमा पोष्टमार्टम भइसकेको छ ।
मृत भेटिएका पोखरेलसहित केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, प्रबन्ध निर्देशक रोहितमान प्रधान, निर्देशक भुवन महर्जन सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचारमा संलग्न भएको अदालतको ठहर थियो । अदालतले जेठ ११ मा उनीहरुमाथि जेल र जरिवानाको सजाय सुनाएको थियो ।