काठमाडाैँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।
मंगलबार लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् । प्रचण्ड उनैलाई लुम्बिनीमा स्वागत गर्न भनेर मंगलबार बिहान लुम्बिनी पुगेका थिए ।
पूर्वनिर्धारित समयभन्दा २ घण्टा ढिला अन्नपूर्ण बेसक्याम्प हुँदै पोखराबाट हेलिकप्टरमा लुम्बिनी लुम्बिनी पुगेका महासचिव गुटेरेसले लुम्बिनीमा शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गर्ने भएका छन् ।
४ दिने भ्रमणका क्रममा लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्रीसहित पर्यटनमन्त्री, लुम्बिनीका मुख्यमन्त्री, राज्यमन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष लगायतको टीमले स्वागत गरेका थिए ।
गुटेरेसले लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन् । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्ने कार्यसूची छ ।
उनलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कनेछन् । कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिनेछ । साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्ने कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए ।