काठमाडाैँ। सिधाकुराको ‘द डार्क फाइल’ शृंखलामा प्रकाशित समाचारजन्य सामग्रीलाई लिएर विकसित भएका घटनाक्रमप्रति नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नाफिजले सिधाकुराका समाचार सामग्री हटाउन भन्दै सोमबार दिएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको बताएको छ ।
मंगलबार विज्ञप्ती सार्वजनिक गर्दै नाफिजका सचिव दिपक भट्टले भनेका छन्, ‘नेपालको संविधानले मौलिक हक र कर्तव्य (भाग ३) अन्तर्गत धारा १९ मा सञ्चारको हकसम्बन्धी व्यवस्था गर्दै सोही धाराको उपधारा १ मा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्वप्रतिबन्ध लगाइनेछैन’ भनी स्पष्ट किटान गरेको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट ‘सिधाकुरा’का उक्त सामग्रीलाई लिएर सोमबार भएको आदेशले प्रेस स्वतन्त्रताप्रति चिन्तित हुने अवस्था सिर्जना भएको हाम्रो ठहर छ ।’
त्यस्तै प्रकाशित भएका समाचारमा अनुसन्धान र छानबिननै नगरी समाचार हटाउन र कुनै निर्णय नहुन्जेलसम्म त्यससम्बन्धी कुनै समाचार प्रकाशन/प्रसारण गर्न भन्दै अदातलले दिएको आदेशले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न नसकेको ठहर रहेको नाफिजले जनाएको छ । त्यस्तै समाचारका विषयमा चित्त नबुझे त्यसको छानबिन गर्ने, कारबाही गर्ने निकाय हुँदाहँदै अदालतले दिएको हत्तारोको आदेश र काउन्सिलले समेत दिएको २४ घण्टे आदेशप्रति आफूहरुको आपत्ति रहेको विज्ञप्तीमा उल्लेख छ ।
‘समाचारजन्य सामग्रीको प्रकाशन र प्रसारणमा चित्त नबुझे, कैफियत भेटिए त्यसको अनुसन्धान र छानबिन गर्न तथा कारबाही समेत गर्ने छुट्टै निकाय (प्रेस काउन्सिल नेपाल) र कानुनी व्यवस्था समेत भएको सन्दर्भमा हतार हतार भएको सक्रियता र त्यसपश्चातका घटनाक्रमप्रति हामी चासो व्यक्त गर्दछौँ । साथै, यससम्बन्धी जिम्मेवार निकाय प्रेस काउन्सिलले समेत उक्त सामग्रीको अनुसन्धान नै नगरी एक पक्षीय उजुरीकै आधारमा तत्कालै समाचार सामग्री हटाउन दिएको २४ घण्टे निर्देशनप्रति हाम्रो आपत्ति छ,' विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै प्रकाशित समाचारबारे पर्याप्त अनुसन्धान नभई सिधाकुराका प्रकाशक युवराज कँडेल र नाफिजका महासचिव समेत रहेका सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगानालाई फौजदारी अभियोजनतर्फ लग्न खोजिएकोप्रति नाफिजले दुःख व्यक्त गरेको छ ।