काठमाडाैँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीले बयान दिएका छन् । सरकारी वकिलको कार्यालयमा उपस्थित भएर चौधरीले उक्त प्रकरणबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) लाई आफ्नो बयान दिएका हुन् ।
बयान दिएर निस्किने क्रममा सांसद चौधरीले आफूलाई बयान दिनका लागि मौखिक जानकारी भएकै भरमा आफू एक जिम्मेवार राजनीतिकर्मीको हिसाबले सहयोग गर्न वकिलको कार्यालय पुगेको बताए ।
त्यस्तै उनले ४२ वर्षअगाडिको अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरिएको आरोप लगाएका छन् । ‘४२ वर्षअगाडि बाँसवारीको अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ ।’, चौधरीले भने ।
त्यस्तै आफूले गरेको उद्यम क्षेत्रमा राजनीतिकरण गर्ने र फगत स्टन्टबाजी देखाउनेहरुलाई आफूले चरित्रको सर्टिफिकेट बुझाइरहन नपर्ने बताएका छन् । ‘४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ’, चौधरीले भने ।