काठमाडाैँ । टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले फिल्डिङकाे निम्ताे पाएकाे छ ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी छन् ।
नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो ।
यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । शृङ्खलामा नेदरल्याण्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको दुई दुई अङ्क छ । रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ ।