दैलेखका ठेकेदार सांसद दिक्पाल शाहीले १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएर अलपत्र पारेपछी स्थानीयले पोल पोलमा पोष्टर झुण्डाएका छन् ।
दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाही अनक जयदेवी जेभीका सञ्चालक हुन् । उनै ठेकेदार सांसदलाई पश्चिम सुर्खेतका नागरिकले ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ।’ भन्ने प्रश्न सहित पोष्टरमा टासेर विरोध गरेका हुन् ।
सांसद शाहीको निर्माण कम्पनीले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत बड्डिचौरदेखि खम्बागाडे खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएर लामो समयदेखि अलपत्र पारेको छ ।
गत वर्षको असारमा पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्तीको शिलान्यास गरेका थिए ।
पूर्वाधार विकास निर्देशनालय सुर्खेत र सांसद शाहीको निर्माण कम्पनी अनक जयदेवी जेभी बाँकेबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो ।