काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) ले आफूलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाहरू विरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् ।
अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ मा शुक्रबार प्रकाशित एक रिपोर्टमा निर्मल पुर्जाबाट यौन दुर्व्यवहार भएको दाबी गरिएपछि पुर्जाले आरोपको खण्ड गरेका छन् ।
पुर्जाले आफ्नो इन्टाग्राम निम्सदाई मा एक पोस्ट गर्दै समाचारमा तथ्य भनेर छापिएका धेरै कुरा गलत रहेको दाबी गरेका छन् । पुर्जाले उक्त आरोप साँचो नभएका भन्दै अखबारका लागि सबै प्रमाणहरू दिएको बताएका छन् ।
मार्च ३० मा भएको भनिएको घटनामा पुर्जाले आफूले सो दिन गरेको काम र रहेको स्थानको टाइमलाइन पत्रिकालाई उपलब्ध गराएको पनि बताएका छन्। तर पत्रिकाले एकतर्फी भनाइका आधारमा समाचार तयार पारेको आरोप पुर्जाको छ ।
उनले लेखेका छन्, 'अखबारलाई धेरै प्रमाण र साक्षीहरूको बयान समेत उपलब्ध गराइयो तर धेरैका अन्तरवार्ता र प्रमाणहरू छापिएनन् ।' प्रकाशकले पुर्जाको पूरा भनाई समेत प्रकाशन नगरेको भन्दै केही साक्षीहरूको बयानको अंश मात्रै प्रकाशन गरेको दाबी गरेका छन् ।
उनले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै आरोपका विरुद्ध कानुनी उपचारको तयारी गरिरहेको उल्लेख गरेका छन् ।