कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सिरोहियाको नागरिकताबारे अनुसन्धानको लागि अज तेस्रो पटक म्याद थपिएको हो । यसअघि जेठ ९ गते र ११ गते पनि तीन/तीन दिनको म्याद दिइएको थियो । तर अझै पनि अनुसन्धान पुरा हुन नसकेका कारण फेरि तीन दिनको म्याद थप गरिएको हो ।
मुटुको चालमा समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा अस्पताल बसिरहेका छन् । उनी काव्या अस्पताल भर्ना भएका हुन् ।
सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको थियो ।
सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अर्थात मंगलबार प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सोही दिन उनलाई पक्राउ गरी धनुष लगेको थियो । अदालतको अनुमतीपछि पक्राउ गरेर धनुषा पुर्याइएको हो ।