भदौ ७, काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले जोगाउन खोजेको आशंका उब्जिएको छ ।
सुन तस्करीका नाइके दावासँग लामो कुराकानी गरेको प्रमाण बाहिरिएपछि सीआईबीको अनुसन्धानमा तानिनुपर्ने अधिकारी गृह मन्त्रालयमा तानेर मन्त्रालयले जोगाउन खोजेको आशंका हुन थालेको हो ।
सिधाकुरामार्फत अधिकारीको सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँगको संवाद बाहिरिएपछि गृहले अधिकारीलाई मन्त्रालय तानेर जगेडामा राखेको छ ।
साउन २ मा राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार बाहिरबाट बरामदको ६० किलो सुनको अनुसन्धानका क्रममा बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो ।
दावाको फोन फरेन्सिक ल्यावबाट परीक्षण गर्दा अधिकारीसँग कुराकानी भएको भेटिएको थियो । वी–च्याट संवादमा दावाले ठूलो पैसाको ठुलो काम भएकाले भेट्नु पर्ने भनेका थिए । जवाफमा अधिकारीले ‘ओके स्योर’ भन्ने जवाफ फर्काएका थिए । साथै अधिकारीले दावालाई पानी तान्ने मोटरको फोटो र भन्सारका कागजपत्र समेत पठाएको थिए । अधिकारीले फोटो पठाएकै मोटर दावाको टोखा स्थित सुन पगाल्ने फ्याक्ट्रीमा भेटिएको थियो । प्रहरीको जारी अनुसन्धानमा दावाले यसअघी सोही मोटरमा राखेर सुन भित्राउने गरेको हुनसक्ने अनुमान गरेको छ ।
(दावाको वी–च्याट स्कृनसट सिधाकुरासँग सुरक्षित छ ।)
बुधबार सिधाकुराले दावासँग महानिर्देशक अधिकारीको वी–च्याट संवाद सार्वजनिक गरेको थियो । अधिकारीले समेत दावासँग भेट भएको र म्यासेजमा कुराकानी भएको पनि स्वीकार गरेका छन् ।
स्रोतका अनुसार समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी थियो । तर बिहिबार अधिकारी मन्त्रालय तानिए ।
कनेक्सन पुष्टि हुने संवाद बाहिरिएपछि अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाउनुपर्ने गृहले मन्त्रालय तानेर संरक्षण गर्न खोजेको आशंकालाई बलियो बनाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने आफू दोषीलाई कारबाही गर्ने विषयमा सम्झौता नगर्ने भएकाले यस्तो आशंका नगर्न आग्रह गरेका छन् । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सिधाकुराका प्रकाशित समाचार पढेपछि आफूले अध्यागमनबाट मन्त्रालय तानेर जिम्मेवारीबिहिन बनाएकाले बाँकी अनुसन्धान सीआईबीले गर्ने बताए । यद्यपी यो समाचार तयार पार्दासम्म सीआईबीले अधिकारीमाथिको अनुसन्धान भने थालेको छैन ।
'सिधाकुरा द सेक्रेट अफ गोल्ड माफिया' सिरिज पढ्नुहोस्
- सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
- सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी
- Exclusive : सुन तस्करीमा जोडिए अध्यागमन विभागका महानिर्देशक अधिकारी, गृहमन्त्रीको भूमिकामा गम्भिर प्रश्न ?
- सिधाकुरा प्रभाव : अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए
- गृहमन्त्री भन्छन् -झलकरामलाई पक्राउ गर्न सीआईबी स्वतन्त्र छ