७ भदौ, काठमाडौं । सुन प्रकरणमा नाइके भनिएको दावा छिरिङसँग सम्पर्कमा रहेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृह मन्त्रालय तानिएका छन् । अधिकारी मन्त्रालय तानिएकोबारे गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले पुष्टि गरे ।
दावा छिरिङ र डिजी अधिकारीको कनेक्सनका विषयमा सिधाकुराले समाचार प्रकाशन गरेको थियो ।
दावा छिरिङसँग वीच्याटमार्फत कुराकानी गरेको, अधिकारीले चीनबाट आएका अवैध सामानको फोटो, भन्सार पासका कागजपत्र दावालाई पठाउने गरेका थिए । अधिकारीले दावालाई पठाएको फोटोमा देखिए जस्तै पानी तान्ने मोटर, टोखामा दावाले बनाएको सुन पगाल्ने उद्योगमा भेटिएको थियो ।
अधिकारीलाई कारोबारमा सहयोग गरेबापत दावाले ठुलै रकम दिने गरेको फरेन्सिक ल्यावमा दावाको फोन रिकभर गर्दा भेटिएको वीच्याट कुराकानीमा देखिएको छ ।
समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी गरेको थियो । तर गृह मन्त्रालयले भने उनलाई फिर्ता बोलाएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठकै जोडबलमा उनलाई विभागमा महानिर्देशक बनाइएको थियो । अध्यागमनका प्रवक्ता खिमराज भुषालका अनुसार उनी आज कार्यालय गएका थिएनन् ।
श्रृङ्खला १ : सुन तस्कर जोगाउन प्रधानमन्त्री र गृहमन्त्रीको दबाबमा गैरकानूनी अनुसन्धान
श्रृङ्खला २ : सुन तस्करीमा ‘बिध ल्याब’का मालिक भिमकान्त भण्डारी