काठमाडौँ । पछिल्लो समय काठमाडौँका सडक छेउका फुटपाथ आकर्षक देखिन थालेका छन् । शहरका मुख्य र सहायक सडकको दायाँ बायाँ आकर्षक डिजाइन सहितको फुटपाथ कतै निर्माण सकिएको छ कतै निर्माणाधीन अवस्थामा छन् ।
आकर्षक फुटपाथका कारण काठमाडौँको सौन्दर्य बढेको, अशक्त र पैदल यात्रीका लागि निकै सहज भएको भन्दै महानगरको चौतर्फी तारिफ भइरहेको छ । राम्रो फुटपाथको जस महानगरका मेयर बालेन्द्र साहले लिइरहँदा पुराना दलका कतिपय नेताहरूले काठमाडौँको फुटपाथ बालेन शाहले नभई संघीय सरकारले बनाएको दाबी गरिरहेका छन् ।
आज हामी काठमाडौँको आकर्षक फुटपाथ भित्रको खास तथ्य केलाउँदै छौँ ।
केही वर्षअघिसम्म सहरमा चारपाटे कङ्क्रिट इँट्टाको फुटपाथ थियो । फुटपाथ त थियो तर त्यो अशक्त र पैदलयात्रीमैत्री सँगै आकर्षक थिएन । देशको राजधानी सहरको बिरक्त लाग्दो फुटपाथलाई नयाँ स्वरुप दिन नवनिर्वाचित स्वतन्त्र मेयर बालेन साहले योजना अघि सारे ।
नयाँ स्वरूपमा बलियो र आकर्षक फुटपाथका लागि भन्दै महानगरले गत आर्थिक वर्षबाटै काम सुरु गरे पनि नतिजा भने अहिले आएर देखिएको छ । गत वर्षकै कामलाई निरन्तरताका रुपमा आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत २ अर्ब १५ करोड रुपैयाँ बजेट बिनियोजन फुटपाथका लागि गरिएको थियो ।
महानगरको सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यका अनुसार महानगरभित्रको सबै सडक सञ्जालमा सतह मिलेको आकर्षक पैदल मार्ग हुनेगरि सुधार कार्यका लागि उक्त रकम विनियोजन गरिएको थियो । जसबाट चालु आर्थिक वर्षमा प्रतिस्पर्धात्मक ठेक्कामार्फत काम सुरु भएको शाक्यले बताए । पैदलमार्गलाई यात्रुमैत्री बनाउन निर्माण, मर्मत तथा सुधारका लागि काम भइरहेको र निर्माण सकिएको फुटपाथ आकर्षक देखिएको उनले बताए । नयाँ बनेका फुटपाथमा रङ्गीन ब्लकहरु छापिएका छन् ।
पैदलमार्ग सुधार कार्यक्रम अन्तर्गत बानेश्वर–तीनकुने क्षेत्रमा साइकल लेनसहितको पैदलमार्ग बन्नेछ भने दरबारमार्ग क्षेत्रमा ग्रेनाइट छापिने महानगरले जनाएको छ ।
पालिकाभित्र पर्ने कुल एक हजार ३ सय किलोमिटर सडकका दुवैतर्फ फुटपाथ व्यवस्थापन गर्ने कार्य महानगरले गरिरहेको शाक्यले बताए । ‘सबै वडा अन्तर्रगतको १३ सय किलोमिटर सडकमध्ये धेरै जसोमा फुटपाथको काम भइरहेको छ,’ शाक्यले भने, ‘कति सकियो कति बाँकी छ अद्यावधिक गर्दैछौँ ।’
सार्वजनिक निर्माण विभागका अनुसार वडा २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्र, वडा २६ लैनचौरबाट वडा १६ सोह्रखुट्टे हुँदै बालाजुसम्म, लैनचौरबाट वडा २ को लाजिम्पाट, महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्ड, वडा २८ को प्रदर्शनी मार्ग, वडा ११ को त्रिपुरेश्वरदेखि सुन्धारासम्म फुटपाथको काम थालिएको थियो ।जसमा केहीको काम सकिएको छ भने केही क्षेत्रमा काम भइरहेको महानगरले जनाएको छ ।
महाबौद्ध, रत्नपार्क, जमल हुँदै लैनचौरसम्म, नयाँ बजार, बालुवाटार सडक खण्ड, तीनकुनेदेखि वडा ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा क्षेत्रमा पनि महानगरले फुटपाथ स्तरोन्नति गरेको छ ।
नयाँ बानेश्वरदेखि वडा ९ पुरानो बानेश्वरसम्म, थापाथलीदेखि वडा १२ टेकु हुँदै वडा १३ कालीमाटीसम्म पनि फुटपाथ बिस्तारको काम भइरहेको छ ।
बागबजार, चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर,भीमसेनगोला सिनामंगल सडक खण्डमापनि फुटपाथको काम भइरहेको छ ।
कालीमाटीदेखि सोल्टी मोडहुँदै कलंकीसम्म,गौशालादेखि चावहिलसम्म, गौशालादेखि रातोपुलसम्म, बालाजु चोकदेखि जनमैत्री अस्पताल, बालाजु उद्यानहुँदै बनस्थलीतर्फको सडक खण्डमा पनि कतै काम सकिएको छ भने कतै काम भइरहेको छ ।
जडीबुटी चोकदेखि पुरानो सिनामंगलपुलसम्म, बालमन्दिरदेखि नक्साल, नारायण चौर, हात्तीसार, कमलपोखरीहुँदै डिल्लीबजार क्षेत्रमा पनि फुटपाथ बनिसकेको छ । महानगरको अहिले बनेको फुटपाथमा प्रयोग गरिएको रङ्गिन ब्लकले ३५ टन बराबरको भारबहन क्षमता धान्ने विभाग प्रमुख शाक्यले बताए ।