काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताहरुलाई मुनाफा वितरण गरेको छ । कोष सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९ र ८० को वित्तीय विवरण स्वीकृत गर्दै मुनाफा वितरण गर्ने निर्णय गरेको हो ।
कोषले सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्तालाई आर्थिक वर्ष २०७९ / ८० को व्यक्तिगत खातामा रहेको शुरु मौज्दात रकममा १। १० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गरेको हो ।
निर्णय भएसँगै सञ्चय कोषका सञ्चयकर्ता तथा निवृत्तभरण कोषका योगदानकर्ताको खातामा उक्त रकम जम्मा गरिएको कोषले जनाएको छ । कोषले आथिक वर्ष २०७९/ ८० मा सञ्चयकर्तालाई कोष रकमको धितोमा प्रवाह भएको विशेष सापटीमा लगाउने ब्याज र कोष रकममा प्रदान गर्ने ब्याजदरमा १.१० प्रतिशतको फरक रहेकोमा यस मुनाफा विवरण पश्चात सञ्चयकर्तालाई थप व्याजको भार नपर्ने अवस्था हुन गएको छ ।
आ व २०८०/ ८१ का लागि कोषमा रहेको रकममा ७.५ प्रतिशतका दरले ब्याज समेत प्रदान भइरहेको छ । कोषको यो निर्णयसँगै सञ्चयकर्ताले आर्थिक वर्ष २०८०/ ८१ को शुरु मौज्दातमा ८.६ प्रतिशतको दरले व्याज प्राप्त गरेका छन ।
कोषमा आर्थिक वर्ष २०७९ /८० को शुरु मौज्दात ४ खर्ब १६ अर्ब ३६ करोड रहेकोमा उक्त रकमको आधारमा मुनाफा रकम वितरण भएसँगै ४ अर्ब ५८ करोड बराबरको रकम कार्यरत तथा पूर्व सञ्चयकर्ताको करिव ८ लाख ६० हजार खातामा जम्मा गरिएको छ ।
कोषले आफ्नै स्रोतबाट स्वास्थ्य उपचार सुविधा काजकिरिया अनुदान सुत्केरी तथा शिशु स्याहार सुविधा दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुरक्षा सुविधाहरू प्रदान गर्दै आएको छ । कोषले प्रत्येक वर्षको मुनाफाको रकम सञ्चयकर्ताको लागि खडा गरिएका कोषमा जम्मा गरी यस प्रकारका योजना सञ्चालन गर्दै आएको छ । सामाजिक सुरक्षा योजना सञ्चालनको लागि यस वर्ष मुनाफाको १२ प्रतिशतले हुने रकम ७२ करोड २० लाख छुट्याइएको छ ।
कोषले आफ्ना सदस्यहरूको सेवाकालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल कर्जा जग्गा खरिद सापटी जस्ता सापटी सुविधाहरू समेत कोषबाट उपलब्ध हुँदै आएको छ । सञ्चयकर्ताको सञ्चित रकममा चक्रबृद्धि ब्याज तथा हरेक वर्ष मुनाफा प्रदान गर्ने गरिएको छ । कोषले आफूसँग भएको वित्तिय श्रोतलाई सञ्चयकर्ताको हितमा अधिकतम प्रयोग गरिरहेको छ ।
कोषले ११ वटा विभाग तथा ७ वटै प्रदेशमा रहेका ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । वि। सं। २०१९ मा स्थापना भएको कोषमा हाल करिव ५ सय १२ अर्ब भन्दा बढीको वित्तिय स्रोत विभिन्न क्षेत्रमा परिचालन गरि व्यवस्थापन गरी रहेको छ ।