नेभिगेशन
सबै कुरा

प्रहरी कुटपिट घटनालाई लिएर अनेरास्वयिुले भन्यो, ‘घटनालाई अतिरञ्जित गरेर संगठनलाई बदनाम गर्ने कुचेष्टा भयो’

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रहरी कुटपिट घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित गरेको आरोप लगाएको छ । उक्त घटनालाई लिएर अनेरास्ववियुलाई बदनाम गर्ने नियोजित प्रयास भएको भन्दै अनेरास्ववियुका अध्यक्ष समिक बढालले विज्ञप्ती सार्वजनिक गरेका छन् । 

आफूहरु सदैव कानूनी राज्यको पक्षधर रहँदै आएको र कानूनी प्रक्रियाबाट दोषी उपर कार्बाही हुनुपर्ने बताउँदै अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको  अध्यक्ष बडालले बताए । ‘अमृत साइन्स क्याम्पस आसपास भएको प्रहरी कुटपिट घटनालाई लिएर अनेरास्ववियुलाई बदनाम गर्ने नियोजित प्रयासप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । अनेरास्ववियु सदैव कानूनी राज्यको पक्षधर रहँदै आएको छ र कुनै पनि घटनाको निष्पक्ष अनुसन्धान हुन्‌ पर्दछ भन्ने स्पष्ट मान्यता राख्दछ । यस घटनामा जोसुकै संलग्न भए पनि कानूनी प्रक्रियाबाट दोषी उपर आवश्यक कार्बाही हुनुपर्छ भन्ने संगठनको स्पष्ट धारणा छ । तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्री मार्फत अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भत्संना गर्दछ ।’, बडालद्वारा सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै अध्यक्ष बडालले सो घटनामा अनुसन्धान गर्न प्रभावित पार्ने कुनै कार्य नगराउन र संसदमा सो विषयमा आवाज उठाउने सांसदलाई समेत संसदीय समिति गठन गरी छानबिन गर्न चुनौती दिए । ‘नेपाल सरकार र सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दछौं । साथै, प्रहरी अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि दबाब स्वरूप राजनीतिक रंग नलगाउन सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौँ,’विज्ञप्तीमा भनिएको छ,‘अनेरास्ववियु कानूनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै, संसदमा अनेरास्ववियु र यसका सदस्यहरूमाथि आशंका उब्जाउने गरी अनर्गल प्रचार गर्ने माननीयहरूलाई संसदीय समिति गठन गरी सत्य तथ्य अध्ययन गर्न चुनौती दिन चाहन्छौं । अपराधका घटनालाई राजनीतिकरण नगरी वास्तविक दोषीमाथि कारबाही होस्‌ भन्ने हाम्रो माग छ । अनेरास्ववियुको संगठनात्मक निष्ठामाथि गलत आरोप लगाउनेहरूसँग हामी कानूनी लडाइ लड्न तयार छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्