काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । ‘दाङ जिल्ला निवासी एक बालिकालाई सोही जिल्लाका लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले ६ वर्षसम्म बन्धक बनाई श्रमशोषण गरेको भनिएको घटनामा उन्मुक्ति दिएको भन्दै सञ्चार माध्ययममा प्रकाशित समाचार पछि आयोगले स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको छ ।’ आयोगले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
त्यस्तै आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकील कार्यालयसमक्ष पेश गरेको राय सहितको प्रतिवेदन सात दिन भित्र उपलब्ध गराउन समेत पत्राचार गरेको छ ।
लुुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् । परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाले नै काठमाडौँ महानगरको टोलीसँग गुनासो गरेकी थिइन् ।
गुनासोपश्चात महानगरको टोलीले सांसद शर्माको बालुवाटरस्थित घरबाटै बालिकाको उद्धार गरेको थियो । बालिकालाई सेफ हाउसमा राखि सांसद शर्माबाट बालिकामाथि श्रम शोषण तथा दूव्र्यवहार भएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो ।
प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै पाटन उच्च अदालत पुगेकी सांसद शर्माको, माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज भएको थियो ।
त्यसपछि उनलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटो खुलेपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । र केही दिनअघि जिल्ला र उच्च सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी आलोचना भईरहेको छ ।
समबन्धित समाचारः
सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’
बाल श्रम शोषण कसुरमा एमाले सांसदविरुद्ध अनुसन्धान गर्न प्रहरीको आनाकानी !
नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय
पीडित बालिकासँग माफि माग्दै बालेनले लेखे, ‘कुकर्म गर्नेहरूलाई तह लगाउन समय आउनेछ’