नेभिगेशन
सबै कुरा

गलकोटका ज्येष्ठ नागरिकको घरमै उपचार

ढोरपाटन । गलकोट नगरपालिका–८ थालेपोखराकी तुलसी पुन ९६ वर्ष पूरा भइन् । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न जाँच गराएकी थिइनन् । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो । 

बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दङ्ग परिन् । थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिस अचम्मित भए । 

Dish Home
Global Ime Bank

गलकोट नगर अस्पतालका एमडी जिपी डा राजेश पौडेल लगायतको टोलीले १५० बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ । गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे । सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे । नगरपालिकाले दूरदराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए ।

स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए ।

यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रुपमा पुग्न नसकिने उनको गुनासो छ । 

थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो । त्यसले गर्दा गलकोट नगरपालिकाले सोही गाउँबाटै र घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकामा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुआत गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले जानकारी दिए । 

वर्षको दुई पटक घरमै पुग्ने, पहिलोपटक स्वास्थ्य परीक्षक गरी औषधी दिनाका साथै ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्डसमेत दिने र पुनः अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने संयोजक पौडेलको भनाइ छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation