असोज ९ काठमाडौ । चिकित्सकहरू माथि निरन्तर आक्रमण भएपछि चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार साँझ तनहुँ अस्पतालका चिकित्सक र सोमबार साँझ पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएपछि चिकित्सकहरू पुन सडकमा आएका छन् ।
काठमाडौँको माइतीघर मण्डलमा ठूलो सङ्ख्यामा भेला भएका चिकित्सकले सुरक्षाको माग गर्दै नाराबाजी गरेका छन् ।
उनीहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, अस्पतालमा नआउ डाक्टर बिरामीको दुवैको ज्यान बचाउ, डाक्टर कुट्न पाइँदैन, पेशा छोडौँ कि देश छोडौँ ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् ।
लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका आफन्तसहितकाे भीडले डाक्टरले लापरवाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।