एनसेलको ८० प्रतिशतको हिस्सेदार रहेको मलेसियाको आजियाटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनानै शेयर बेच्न लागेको खुलेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति आवश्यक पर्ने व्यवस्था स्मरण गराएको हो ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको तर आजियाटाले त्यस्तो कुनै पनि स्वीकृति नलिएको प्राधिकरणले बताएको छ ।
७ वर्षअघि एनसेलसँग जोडिएको मलेसियाको आजियटा कम्पनीले बुधबारमात्रै नेपालमा चुनौती रहेको बताउँदै एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेर नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।
त्यस्तै शुक्रबारनै अदालतले आजियटाले शेयर विक्री गरेर लगानी फिर्ता लैजान लागेकोबारे कारण देखाऊ आदेश जारी गरेको थियो ।