१३ भदौ, काठमाडौ । हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीसम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एक जना उच्च अधिकृत आज हङकङ प्रस्थान गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई आवश्यक अनुसन्धानका लागि आज हङकङ पठाइएको जानकारी दिए ।
हङकङबाट ‘ब्रेक शु’मा हालेर ६० किलो सात सय १६ ग्राम सुन गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।
त्यसको १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा गैरकानूनी ढंगबाट सीआईबीको जिम्मा लगाइएको थियो। सीआर्इबीले यही भदौ ८ गते सुनसम्बन्धी आवश्यक सूचना र जानकारी भए सीआर्इबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोधसमेत गरिसकेको छ । आफैँ पनि सुनका विषयमा सूक्ष्म अनुसन्धानमा लागेको सीआर्इबीले इन्टरपोलको समेत सहयोग माग सिकेको छ ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा हालसम्म २५ जनालाई पक्राउ गरिएको छ । जसमा भारतीय र चिनियाँसहितका छ जना विदेशी छन् । सीआईबीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ ।