काठमाडाैँ । सरकारले अर्थ सचिवको जिम्मेवारीमा मधु कुमार मरासिनीलाई ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थको जिम्मेवारीमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका जिम्मेवारी पाएका मरासिनी अर्थ मन्त्रालयकै क्याडर हुन् । मन्त्रालयको सहसचिव रहँदा पेमेन्ट गेटवे अनियमिततालाई सघाउने गरी बजेट विनियोजन गरेको भन्दै उनी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी वाणिज्य सचिवको रुपमा रहेकै अवस्थामा निलम्बनमा परेका थिए ।
तर, वैशाख ७ गते विशेष अदालतले मरासिनी विरुद्ध अख्तियारको दाबी गलत भएको भन्दै सफाइ दिएको थियो । अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाइको तेस्रो दिनमै उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा विनियोजन गरेको बजेटकै आधारमा उनीमाथि मुद्दा चलाइनु गलत भएको भन्दै अख्तियारको आलोचना समेत भएको थियो । अर्थ मन्त्रालय,अर्थतन्त्र नजिकबाट बुझेका र नेपालको विकास साझेदारहरूसँग निकट सम्बन्ध रहेका अधिकारीका रुपमा परिचित मरासिनीलाई लगानी सम्मेलन र बजेटको मुखैमा अर्थ सचिवको जिम्मेवारी दिइएको हो ।