काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तथा वित्तीय विवरणबारे नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ ।
सर्वसाधारणलाई बुक विल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको अन्तिम चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएको भन्दै मंगलबार बसेको लेखा समिति बैठकले बोर्डसँग जवाफ माग गर्ने निर्णय गरेको हो ।
बोर्डलाई लिखित प्रश्न गर्दै समितिले ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । ‘ रिलायन्सको आइपीओ मूल्य के आधारमा तय गरिएको हो ? बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ ? र यसको प्रक्रिया के हो ?’ लगायतका प्रश्न समितिले बोर्डसँग माग गरेको छ ।
यस्तै बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन ? कुन-कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए ? उक्त विवरण पनि उपलब्ध गराउन लेखा समितिले बोर्डसँग माग गरेको छ । समितिले कम्पनीको वित्यि विवरणमा छेडखानी गरिएको हो वा होइन भन्नेपनि स्पष्ट पार्न बोर्डलाई भनेको छ ।