काठमाडौँ । नवलपुरका मधुुसुदन विक १४ वर्ष कतारमा पसिना बगाएपछि बाँकी जीवन परिवारसँगै बसेर केही गर्ने भन्दै नेपाल फर्कीए । कतार जानु भन्दा पहिला पनि उनीसँग ग्रिल उद्योगमा काम गरेको अनुभव थियो । नेपाल फर्कीएपछि आफ्नै ग्रिल उद्योग सुरु गरे । उद्योगको हिसाकिताबमा श्रीमतीले सघाउँथिन् । दुई सिफ्ट काम गर्नेगरी ८ जना कामदार राखेर उनले सुरु गरेको व्यवसाय राम्रो जमिरहेको थियो । तर, उनलाई एक्कासी अमेरिका जान मन लाग्यो ।
‘आफैँले जानेको काम थियो, मधुसुदनले भने महिनामा २० देखि २५ लाखको कारोबार हुन्थ्यो । २ लाख त घरमै बचाउँथेँ ।’ मधुसुदनका दाई ध्रुव विक अमेरीकामा छन् । एक दिन दाईसँग कुरा गर्दा मधुसुदनको मन फेरियो । दाईले दुबईबाट अमेरिका पठाउने एजेन्टका बारेमा सुनाए । मधुसुदनलाई गाउँमा भएको ग्रिल उद्योग छोडेर अमेरिका जाने हुटहुटी सुरु भयो । ‘सजिलै जान पाइन्छ भनेपछि छोराछोरीको भविष्य पनि राम्रो होला भन्ने लाग्यो, अमेरिकाको सपना कसलाई हुँदैन र ?’ मधुसुदन सम्झिन्छन् ।
नवलपुरका मधुुसुदन विक
दाईले भने अनुसार नै दुबईमा रहेका सरोजकुमार साह तेलीसँग सम्पर्क भयो । त्यसपछि सुरु भयो मधुसुदनको अमेरिका यात्रा । यो यात्रामा मधुसुदन एक्लै थिएनन्, कतारमा काम गर्दा चिनजान भएका नुवाकोटका राकेश डंगोल पनि मिसिए । राकेश ५ वर्ष कतारमा साइट म्यानेजरको जिम्मेवारी सम्हालेर नेपाल फर्किएका थिए । कतारमा भएको कमाइले राकेशले न्युरोडमा दुई वटा माबाइल पसल चलाएका थिए ।
मधुसुदनका दाई ध्रुव विकसँग पनि राकेशको कुराकानी भइरहेको हुन्थ्यो । कतारमा काम गर्दा उनीहरुको राम्रै सम्बन्ध थियो । त्यसैले राकेशले ध्रुवलाई विदेशमा राम्रो अवसर आए खबर गर्नु भनिरहेका हुन्थे ।
ध्रुवले राकेशलाई पनि एकजना एजेन्टले अमेरिका पठाउने सुनाए । मोबाइल र इलोक्ट्रोनिक सामानको ब्यापारले उनको कमाइ पनि मधुसुदनको भन्दा कम थिएन । तर २०–२५ लाखमा अमेरिका पुगिन्छ भनेपछि उनलाई पनि पसलको माया लाग्न छोड्यो । ‘पसलको कमाई राम्रो थियो, विदेशको दुःख बिर्साएको थियो तर थोरै पैसामा अमेरिका नै पुगिन्छ भने किन नजाने भन्ने लाग्यो’ राकेश भन्छन्, राम्रो चलिरहेको मोबाइल पसल सस्तोमा बेचेर मधुसुदनसँगै अमेरिका जान तयारी गरे ।
नुवाकोटका राकेश डंगोल
काठमाडौँबाट दुबई जाने, दुबईको कम्पनीमा राम्रो तहमा चर्को तलबमा काम गरेको देखाएर अमेरिका जाने भन्दै एजेन्ट सरोजले मधुसुदन र राकेशलाई फकाएका थिए । ‘दुबईको ठुलो कम्पनीको हाकिम भनेर कागज गराउने हो, बैंकमा तलब हालेर ठुलो कारोबारको स्टेटमेन्ट देखाएपछि भिसा लागिहाल्छ’ सरोजले भनेका थिए, ‘अमेरिकी दूतावासमा हाम्रो सेटिङ छ ।’
त्यसका लागि दुबईको कार्ड बनाउन भन्दै सरोजले ३ लाख ५० हजार एड्भान्स मागे । दुबईमा रहेको कोसेली ट्राभलको नेपालको खातामा पैसा जम्मा गरिदिन भने । त्यसबाहेक विमानस्थलमा सेटिङ, श्रम र टिकटका लागि काठमाडाँैमा रहेको आफ्नो सालो बुद्ध राजबहाकले मिलाउने भन्दै श्रीमतीको नाममा थप पैसा पठाउन लगाए । कोसेली ट्राभलका नाममा हुण्डी गरेर ७ लाख दुबई पठाए भने नेपालको सेटिङ मिलाउने भन्दै सरोजकी श्रीमती संगिता राजबहाकको खातामा पैसा हाल्न लगाए ।
केही दिनमा उनीहरुको वर्किङ भिसा आयो, श्रम पनि बनाए तर सरोजका सालो बुद्धले भिजिट भिसामा जानु पर्ने, विमानस्थलमा सेटिङ मिलाउनु पर्ने भन्दै दुइतर्फी टिकटको समेत पैसा हाल्न लगाए ।
सरोज र उनका सालोले जसो भन्छन्, मधुसुदन र राकेश त्यसै गर्दै गए किनकी उनीहरुलाई अमेरीका जानु थियो । ‘दूतावासमा सेटिङ छ, सजिलै अमेरिका लैजान्छु भनेपछि हामी पनि सरोजले जे भन्छ त्यसै गर्यौँ, ब्यापार व्यवसाय बेचेर हिँडेपछि जसरी हामीलाई अमेरिका जानु थियो’ मधुसुदन र राकेश एउटै बोलीमा भोगाई सुनाउँछन् ।
सरोजले फोनमा भने जस्तो थिएन दुबईमा । अमेरिका जाने सपना बोकेर दुबई पुगेका उनीहरुका दुःख पहिलो दिनबाटै सुरु भयो । सरोजले फोहोर कोठामा लगेर राखे । बाहिर काम नगर्नु भन्दै उनीहरुको पासपोर्ट लगेर हिँडे ।
सरोजकुमार साह तेली, एजेन्ट
सुरुमा २५ लाख दिए युएईमा रहेको अमेरिकी दूतावासमा इन्टरभ्यु समेत गर्न नपर्ने भनेका सरोजले अब ३५ लाख लाग्ने र दूतावासमा इन्टरभ्यु पनि गर्नुपर्ने बताए । मधुसुदन र राकेशसँग सरोजले भनेको चुपचाप मान्नु बाहेक विकल्प थिएन ।
सरोजले उनीहरुलाई जेब्रा टेक्नोलोजीका उच्च तहका कर्मचारी भनेर कार्ड बनाइदिए । कागजमा उनीहरुको तलब २९ हजार ५ सय दिराम अर्थात नेपाली १० लाख ५० हजार भन्दा बढी तलब तोके । तर, मधुसुदन र राकेशले घरबाट पैसा मगाएर खाना खाँदै थिए ।
उनीहरुको नाममा सरोजले बनाएका कागजपत्र उनीहरुलाई कहिल्यै दिएनन् । काम हुँदैछ, कागजपत्र बनाउँदै छु भन्दै ७ महिनासम्म झुलाए । अन्तिम अवस्थामा आएपछी भने उनीहरुको भिसाका लागि अमेरिकी दूतावासमा मिति तोकियो ।
अमेरिकाका भिसा अधिकारीले जिस्क्याए
मासिक लाखौँ कमाई र परिवारको साथ छाडेर अमेरिका जाने सपना पछ्याएका उनीहरुका लागि यहि दिनको तिब्र प्रतिक्षा थियो जुन ७ महिना पछि आयो ।
बिचौलिया सरोजले मासिक १० लाख तलब खाइरहेको कागजपत्र बनाइदिएका थिए भने दूतावासमा सेटिङ भएकाले भिसा लाग्ने पक्का भएको बताएका थिए । मधुसुदन र राकेश निर्धारित समयमै दूतावास पुगे । दुवैको अन्र्तवार्ताको पालो आयो । दूतावासका अधिकारीले कागजपत्र हेरेर, सामान्य परिचय सोधे । ‘महिनाको १० लाख तलब खाने देखिन सुटबुटमा दूतावास पुगेका थियौँ, कागजपत्र पनि राम्रै थिए’ राकेश भन्छन्, ‘सरोजले सेटिङ छ भनेकाले भिसाको औपचारीकता पुरा गर्ने त हो भन्ने लागेको थियो । तर भित्र के को सेटिङ हुनु ? दूतावासका भिसा अधिकारीले हामीलाई हाँसेर उडाए’ राकेश सम्झिन्छन् ‘दुबईमा १० लाख तलब खाने नेपाली भन्दै ति कर्मचारीले हाँसेर उडाइदिए, अर्को पटक अल्ली गतिलो कागज बनाएर आउनु भन्दै पासर्पोट फिर्ता दिए ।’
दूतावास छिर्दा सुटबुटमा हर्षित देखिएका उनीहरु बाहिर आउँदा फतक्कै गलेका थिए । मधुसुदन भन्छन्, ‘भिषा नलागेकोमा भन्दा बढी दुःख अब के गर्ने ? कसरी घर फर्कीने भन्ने भयो’ । ‘दुबईको गर्मीले के पोल्यो र सर, अलपत्र पारेको व्यवसाय, साउको ऋण अनि परिवारको बिश्वास सम्झेर मन भतभती भयो,’ मधुसुदन दुःख पोख्छन् ।
अमेरिका जाने सपनामा सरोजले खेलवाड गरेको नबुझेका होइनन्, तर आशा बाँकी थियो । दूतावासले भिसा रिजेक्ट गरेपछि पनि सरोजले कागजपत्र बनाउनेले गल्ती गरेको भन्दै अर्को पटक फेरि मिलाएर अमेरिका पठाउन भन्न छाडेका थिएनन् ।
मधुसुदन र राकेश फसिसकेका थिए । दुबैजनाको झण्डै २५–२५ लाख खर्च भैसकेको थियो । घर फर्किन ब्यापार व्यवसाय छोडेर गएका थिए । दुबईमै काम खोज्ने नसोचेका पनि होइनन् तर सरोजले फेरि अर्को खेल खेले ।
मधुसुदन र राकेशले पैसा फिर्ता माग्न खोजे । सरोजले केही समय नेपाल गएर फर्कीएपछि फेरि भिसा प्रक्रिया गर्ने भनेर फकाउन थाले । नेपाल फर्किने तयारी गर्दै गर्दा उनीहरुले थाहा पाए कि उनीहरुलाई सरोजले अमेरिकाको चक्करमा मात्रै फसाएका छैनन्, उनीहरुका नाममा दुबईका बैंकबाट लाखौँ ऋण निकालेर भगाउन खोजिरहेका छन् ।
लाखौँ ऋणको भारी
सरोजले मधुसुदन र राकेशको पासपोर्टदेखि सबै कागजपत्र राखेका थिए । उनीहरुको विवरण दुरुपयोग गरेर सरोजले मधुसुदनको नामबाट करिब ६५ हजार दिराम नेपाली करिब २४ लाख ऋण निकालेका रहेछन् । राकेशको विवरण प्रयोग गरेर १ लाख ७० हजार दिराम नेपाली करिब ६१ लाख रुपैयाँ ऋण निकालेका रहेछन् । दुबईमा उक्त ऋण हुँदासम्म उनीहरु स्थायीरुपमा दुबईबाट कतै जान पाउँदैनन् ।
आफ्नो विवरण प्रयोग गरेर लिएको ऋण मिनाह गर भन्दा सरोजले मिलाउँछु मात्रै भनिरहेका छन् । बरु उनीहरुलाई केही समयमा फर्किने भन्दै कामबाट बिदा दिएको कागज बनाएर नेपाल पठाइदिए । नेपाल आएपछि भने राकेश र मधुसुदनको फोन उठाउनै छाडे । अमेरिका जाने बहानामा सरोजले भनेर कोसेली ट्राभलको नाममा हालेको रकम, सरोजका सालो भनिने बुद्ध राजबहाक, उनकी श्रीमती संगिता राजबहाकको नाममा पठाएको २५ लाख रुपैयाँ डुब्यो, लाखौँ कमाई हुने व्यसाय डुब्यो, अनि अमेरिकाको सपनामा दुबईको झण्डै एक करोड ऋणमा डुबे ।
अहिले उनीहरु दुबईको अध्यागमनको कालोसूचीमा छन् । उनीहरुको विवरण प्रयोग गरेर सरोजले निकालेको ऋण फिर्ता नहुँदासम्म उनीहरु दुबई जान पाउँदैनन् । दुबई ट्रान्जिट हुँदै दोस्रो मुलुक पनि जान पाउँदैनन् ।
फर्किने बेला उनीहरुलाई सरोजकी श्रीमतीले १०/१० लाख रुपैयाँको चेक दिएकी थिइन् । संगिताले दिएको चेकको मिति सकियो, ३ पटकसम्म बैंकले चेक बाउन्स गरिदिएको छ । तर अहिले चेक साटिनु त परको कुरा सरोज नै सम्पर्कबिहिन भएका छन् ।
सरोजकी श्रीमती संगिताले दिएकाे चेक
अमेरिकाको चक्करमा चलिरहेको ब्यापार व्यवसायसँगै लाखौँ गुमाएका मधुसुदन र राकेश अहिले काठमाडौँमा भौताँरिदै छन् । न उनीहरुको उजुरी प्रहरीमा दर्ता हुन्छ, न वैदेशिक रोजगार विभागले हेर्छ ।