काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गरेको छ ।
सिंहदरबारमा बुधबार समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गरेको हो । सो क्रममा उनीहरुले बचत फिर्ताका लागि आन्दोलन गरेपनि सरकारले आफुहरुको समस्या नसुनेको गुनासो गरेका थिए ।
त्यस्तै उनीहरुले अधिकांश सहकारी ठगहरु स्वदेशमा रहेपनि सरकारले देश बाहिर रहेका सहकारीलाई मात्र खोज्ने प्रयास गरेको बताएका छन् । समिति संयोजक सूर्य थापाले सहकारी पिडितलाई न्याय दिन आवश्यक सुझाव दिनका लागि पीडितहरुसँग छलफल गरेको बताए ।
बचतको अपचलन गर्ने नियतका साथ आएका सहकारीले ठगी गरेकाले सबै सहकारीले ठगि गरेको नबुझ्न उनले सहकारी पीडितलाई आग्रह गरेका छन् । संयोजक थापाले तथ्यप्राप्त गर्नका लागि जेलमा रहेका सहकारी ठगी गर्नेलाई पनि सोधपुछ गर्ने बताएका छन् ।
सहकारी ठगी गरेर विदेशमा लुकेकालाई पनि नेपाल ल्याउनका लागि आवश्यक कानूनका बारेमा जानकारी लिएको उनको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।