नेभिगेशन
सबै कुरा

इजरायलमा 'हमास'काे आक्रमणपछि बेपत्ता विपिन जोशी कहाँ छन् ?

काठमाडाैं । गत शनिबार इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको लडाकु समुह 'हमास'ले आक्रमण गर्दा कृषि अध्ययन गर्न गएका कञ्चनपुरका विपिन जोशी सहितको समुह खाना खाँदै थिए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलको ‘सेडट नेगेभ' कलेजमा 'लर्न एण्ड अर्न' कार्यक्रममा पुगेको विपिन सहित ४९ जनालाई कलेज ६ समुह बनाएर विभिन्न कृषि फार्ममा राखेको थियो ।

Dish Home
Global Ime Bank

कलेजले विपिन सहित १७ जनालाई प्यालेस्टाइनको गाजासँगै जोडिएको 'किवुज अलुमिन'को फार्ममा राखेको थियो । यही समुहका १७ जना मध्ये १० जनाले 'हमास'को आक्रमण ज्यान गुमाएका छन् । घाइते भएका ४ जनाको उपचार भैरहेको छ भने २ जना सुरक्षित थिए ।

उनीहरू आक्रमण परेको, घाइते भएको खबर अन्य साथीहरूलाई गरेर विपिनले नै गुहार मागेका थिए । तर केही समय पछि उनै विपिन बेपत्ता भए ।

इजरायलबाट नेपाली विद्यार्थीको क्रन्दनः बङ्करमै छिरेर गोली हाने, ३ घण्टासम्म पानी मागेका साथि बाँचेनन्

घटना भए लगत्तै विपिनले अर्को ठाँउमा रहेका लुइस रिजाललाई सम्पर्क गरी 'एम्बुलेन्स' पठाउन गुहारेका थिए ।

लुइसले सञ्चारमाध्यमलाई बताए अनुसार विपिन लगायत १७ जना बसेको क्याम्प भित्र 'हमास' ले ग्रिनेट फालेका थिए । पहिलोपटक आएको ग्रिनेट विपिनले नै टिपेर बाहिर मिल्काएका थिए ।

तर दोस्रो पटक आएको ग्रिनेट उनीहरू बसैकै ठाँउमा पड्कीदाँ ५ जना घाइते भए । घाइते मध्ये ४ जनालाई एम्बुलेन्समा अस्पताल पठाएर एक घाइते साथी सहित उनीहरू अर्को बङ्करमा बसे । सोही समयमा बाहिर गाडीको आवाज सुनियो ।

एम्बुलेन्स सोचेर कैलालीका नारायणप्रसाद न्यौपाने बाहिर निस्किए । तर बाहिर निस्कनासाथ 'हमास'का लडाकुले नारायणलाई गाली हाने ।

त्यसपछि बङ्करमा छिरेर सबै माथि गोली बर्साए । लुइसका अनुसार गोली लागेपछि आत्तिँदै एम्बुलेन्स पठाउन गुहार मागिरहेका थिए । ‘लगभग घण्टा, दुई घण्टा र तीन घण्टाको फरकमा एकपछि अर्को गरी घाइते साथीले पानी पानी भन्दै फोन गर्थे ।

लुइस सम्झिन्छन्, उनीहरू मलाई बचाऊ बचाऊ गोली लागेको छ भनेर कराउँथे,’ ‘हामीले उद्धार गर्न नेपाली दूतावासलाई फोन गर्यौ, एनआरएनलाई गुहार माग्यौं ।तर कसैबाट पनि केही सीप लागेन । साथीहरू एकपछि अर्को गरी सम्पर्कविहीन हुँदै गए ।’ लुइसका अनुसार विपिन आक्रमणकारीको कब्जामा छन् । सबै घाइतेको विवरण दिएका विपिन दिउँसो २ बजेतिरबाट सम्पर्क बिहिन भए ।

शनिबार दिउसो २ बजेबाट बेपत्ता भएका विपिनको अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । उनका साथिहरुले 'हमास'का लडाकुले विपिनलाई अपहरण गरेको हुन सक्ने बताउँदै आएका छन् । तर इजरायल स्थित नेपाल दुतावासले सबै संयन्त्र प्रयोग गरेर विपिनको खोजी कार्य भैरहेको मात्रै बताउँदै आएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमास समुहले इजरायली नागरिक सहित अन्य देशको नागरिकलाई पनि बन्धक बनाएको दाबी गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार इजरायली बाहेक ६ देखि ८ जना 'हमास'को अपहरणमा परेका छन् जस मध्ये मेक्सिकन २ जना, ब्राजिलियन ३ जना, एक जना नेपाली विद्यार्थी र एक जना ब्रिटिस नागरिक छन् । साथै जर्मनी र थाइल्याण्डका ११ जना पनि हमासको अपहरणमा परेको आशंका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । इजरायलबाट स्वदेश फर्किदै गरेका अधिकांश नेपाली विद्यार्थीहरूले यही रिपोर्ट शेयर गरेका छन् । उनीहरूले विपिनको अवस्था पत्ता लगाउन सबैसँग आग्रह गरेका छन् ।

यता परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने विपिनको अवस्थाका बारेमा कतैबाट सूचना प्राप्त नभएकाले खोजी कार्य जारी रहेको बताएकी छिन् ।

विद्यार्थी लिन आफै इजरायलको तेल अभिभ विमानस्थल पुगेका परराष्ट्र मन्त्री एनपी साउदले समेत विपिनको अवस्था पत्ता लगाउन कुनै अन्तराष्ट्रिय नियोगहरूलाई आग्रह गर्न सकेनन् ।

इजरायलस्थित नेपाली दुतावासका अधिकारीहरूले भने इजरायली सेना, रेडक्रस, ह्युमन राइट्सका अधिकारीहरूसँग समन्वय भैरहेको तर कतैबाट जानकारी प्राप्त नभएको बताउँदै आएका छन् ।

साथै अस्पतालहरु समेत विपिनको खोजी भैरहेको दुतावासको दाबी छ । अलजजिराका अनुसार अहिले ५ हजार भन्दा बढी प्यालेस्टाइनीहरु इजरायलको जेलमा छन् ।

जस मध्ये ३३ जना महिला र १७० जना बालबालिका छन् । हमासको अल कसाम बिग्रेडका प्रवक्ता अबु उबैदाले इजरायलमा आक्रमण गरि इजरायली जेलमा रहेका प्यालेस्टाइनीहरु छुटाउन पुग्नेगरि इजरायली सैनिकहरूलाई बन्धक बनाउन सफल भएको दाबी गरेको थियो ।

इजरायली सैन्य प्रवक्ता रियर एडम ड्यानियल हगारीले पनि हमासले इजरायलीहरुलाई बन्दक बनाएको स्विकार गरेका छन् तर उनले ति सैनिक हुन वा सर्वसाधारण पनि छन भने भन्न चाहेनन् ।

सार्वजनिक भैरहेको भिडियोहरूमा हमासका लडाकुहरूले मानिसहरूलाई निर्मम तरिकाले अपहरण गरेर गाडीमा कोचेको देखिन्छ भने महिलाहरूलाई समेत अमानवीय तरिकाले बन्धक बनाएर गाजा क्षेत्र तर्फ लैजाँदै गरेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation

भर्खरै