असोज ३ गते, संविधान दिवसका दिन नेपालगञ्जको गगनगञ्जमा उत्साह थियो, उखरमाउलोे घाममा राजनीतिक गफगाफ पनि चर्कै थिए । गगनगञ्जको डेरामा मोवाइल चलाइरहेकी भारती मानन्धरलाई आफन्तले एउटा समाचार पठाए ।
सरसर्ती समाचार पढिसक्दा भारती फतक्कै गलिसकेकी थिइन् । ८ बर्ष अघि छिमेकीले श्रीमान चेतनको हत्या भएको खबर सुनाउँदा बेहोस् भएकी भारतीलाई असोज ३ गते संविधान दिवसका दिन श्रीमानका हत्यारालाई राष्ट्रपतिले माफि दिएको समाचारले झन् विचलित बनायो ।
वि.सं.२०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरलाई तरुण दल बाँके ३ का सभापति समेत रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालले खुँडा प्रहार गरि हत्या गरेका थिए ।
हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए ।
रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका छन् ।
राष्ट्रपतिले सजाय मिनाहा गरेसँगै रिगललाई घोराही कारागारबाट निस्किँदै गर्दाको अविर जात्रा र स्कर्टिङले भारतीको वेचैनी बढाएको छ । त्रास बढाएको छ ।
घटना के थियो ?
२०७२ सालमा भारतीका श्रीमान चेतन नेपालगञ्जमा सानातिना ठेक्कापट्टाको काम गर्थे । होटल चलाउन सुरु गरेका थिए । सो समयमा चेतन र रिगल साथी थिए ।
रिगललाई चेतनले दाइ भन्थे । रिगल तरुण दलका क्षेत्रीय सभापति थिए । पहिला रिगलसँगै हिँड्ने चेतन नेकपा एमालेसँग नजिकिएपछी रिगलसँग रिसिइबी सुरु भएको थियो ।
त्यस समयमा रुपडियातिर नेपाल र भारतबीच अवैध रुपमा बस चल्न थालेका थिए । तिनै बस सञ्चालन गर्ने विषयमा रिगल र चेतन बिच मनमुटाव भएको थियो । हत्या भएको केही दिन अघि मात्र रिगल र चेतन सँगै काठमाडौँ आएका थिए । श्रीमती भारतीका अनुसार नेपालगञ्ज फर्किएपछी चेतन निकै तनावमा थिए ।
साँझको समय, खाना खाने तरखर गर्दैगर्दा रिगलले चेतनलाई अर्को दिन सुर्खेत रोडमा भेट्न बोलाए । भोलिपल्ट मोटरसाइकलमा रिगललाई भेट्न हिँडेका चेतनलाई सुर्खेत रोड नपुग्दै रिगलको समुहले खुँडा प्रहार गरी हत्या गर्यो । हत्यापछि बाँके प्रहरीले ११ जनालाई पक्राउ गरेपनि मुख्य योजनाकार रिगल भने फरार रहेका थिए ।
हत्या गरेर ३ वर्षसम्म फरार भएका रिगल २०७२ भदौ २ मा बाँके जिल्ला अदालतमा आत्मसमर्पण गर्न पुगे । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले गुण्डागर्दीविरुद्ध इन्काउन्टरको अभियाननै चलाएपछी रिगलले आत्मसपर्ण गरेका थिए ।
केन्द्रिय कारागारको गोलघरमा समेत कैद भुक्तानी गरेका रिगलले कारागार भित्रैबाट अवैध गतिविधि गर्ने गरेको प्रहरी स्रोतको दाबी छ ।
राष्ट्रपतिलाई चेतनकी श्रीमतीका प्रश्नै प्रश्न
आफ्ना श्रीमानको हत्या गरेर सजाय काटिरहेका रिगललाई राष्ट्रपतिले कैद कट्टा गरिदिएपछि भारती मानन्धर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न चाहान्छिन् । सिधाकुरासँग कुरा गर्दै भारतीले आफ्ना श्रीमानको हत्यारालाई ६० प्रतिशत कैद छुट दिएर राष्ट्रपतिले पाप गरेको बताइन् ।
राष्ट्रपति माथि निकै आक्रोशित देखिएकी भारतीले आफ्ना श्रीमानको हत्यारालाई एक पटक पनि परिवारलाई नसोधी आम माफी दिने तपाईँ को हो ? भनेर राष्ट्रपतिलाई सोध्न चाहेको बताइन् । आम माफीको शब्दको अर्थ राष्ट्रपतिलाई सोध्ने धोको राखेकी भारतीले राष्ट्रपतिलाई सोध्न चाहेकी छिन्, न्याय भनेको के हो ? अहिले उनलाई सबैभन्दा धेरै गुनासो राष्ट्रपतिसँग छ ।