काठमाडाैँ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको नयाँ समीकरणले वर्तमान संविधानमाथि नै प्रहार गर्ने प्रयास गरेको बताएका छन् । शुक्रबार पाँचौ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणले रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।
‘विश्वमै पहिलो र दोस्रो दल मिल्दा त्यस्ले जहिले पनि लोकतन्त्रलाई कमजोर बनाएको छ, निरङ्कुसतन्त्रलाई प्रश्रय दिएको छ ।’, उनले थपे, ‘यहाँ त नेपाली कांग्रेस र नेकपा एमालेमात्रै मिलेर सरकार मात्र बनाउँदै हुनुहुन्न । अत्यन्तै रहस्यमयी ढंगले वर्तमान संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ तपाईँहरुले ।’
त्यस्तै उनले विपद वा राष्ट्रिय सहमति चाहिने अवस्थामा मात्र पहिलो र दोस्रो दल मिल्ने अभ्यास रहेको भन्दै उनले अहिले बाढीपहिरो आउँछ भनेर मिल्न लागेको हो भन्दै व्यंग्यात्मक प्रहार गरेका छन् । ‘विशेष परिस्थितिमा हामीहरुले संविधानको बेला, भुकम्पको बेला, मैले यही मञ्चबाट विपक्षीको नेता भएपनि म सरकारको साथ छु भनेको थिएँ ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले पनि त्यस्तै हुन लागेको हो कि ? कि बाढीपहिरो आउँछ भनेर मिल्नु भएको त होइन होला ।’
विश्वासको मत माग्दै प्रचण्डले प्रमुख दलहरु मिलेर कहीँपनि सरकार नबनाएको दृश्टान्त सुनाएका छन्। उनले संसदीय लोकतन्त्र भएका अमेरिका, बेलायत, भारतमा पनि मुख्य प्रतिस्पर्धी दलहरु मिलेर कहिल्यै सरकार नबनाएको बताएका छन् ।