चितवन । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ ।
कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो ।
प्रतिवेदनअनुसार काठमाडौँ महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार, पोखरा महानगरको सात दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार रहेको छ । यस्तै वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको एक दशमलव ०३ प्रतिशत अर्थात् सात करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात् चार करोड ५१ लाख बेरुजु छ ।