काठमाडौँ । ‘दशैँको टीकाको दिन मध्यरातमा आमाले हामीलाई भिडियो कल गर्नुभयो । उहाँ बेस्सरी रुनु भयो । आमा रोएको देखेपछि हामीले पनि आफूलाई सम्हाल्नै सकेनौँ । यही बेला आमामाथि आक्रमण भयो । भिडियो कलमा हामीले आमा रोइरहेको, चिच्याइरहेका सुन्यौँ,’ नवीन र मनिषा दाजु बहिनीले गहभरी आँसु बनाए । आमा बन्धक भएको ठाउँबाट उद्धारका लागि रोइरहेको भन्दै दाजु बहिनीले दुई हात जोड्दै सोधे ‘सर हाम्रो आमालाई सकुसल नेपाल ल्याउन सकिन्छ ?’
नारायण नगरपालिका–११ टाटामाखु दैलेखका नवीन सुनार १९ वर्षका मात्रै भए । बहिनी मनिषा १२ वर्षकी मात्रै । बहिनी गर्भमै रहेको बेला १२ वर्षअघि बाबुले अर्कै श्रीमती लिएर घर छोडे । आमा खगिसराले संघर्षको पहाड फोड्दै भाइ, बहिनी र उनलाई हुर्काइन् ।
तीन जनाको परिवार जसोतससो चल्दै थियो । बढ्दै गएका छोराछोरी र उनीहरु माथिको आर्थिक दायित्वका कारण घर आर्थिक शंकटमा प¥यो । छोरा छोरी हुर्काउन आमा खगिसरा वैदेशिक रोजगारीमा जाने तयारीमा लागिन् ।
मनिषा सुनार र नवीन सुनार
तर, केही समयपछि उनी घरेलु कामदारको रुपमा रहेको घरबाट निकै दबाब र यातानाको शिकार भइन् । ‘साहुनीले कुट्पिट गर्ने गरेको भन्दै आमा हामीसँग रुनु हुन्थ्यो,’ छोरा नवीन र छोरी मनिषाले सिधाकुरासँग आमाको पीडा सुनाए, ‘हामीलाई कठिन हुन्छ होला भनेर आमाले धेरै पीडा नभनेको जस्तो लाग्छ । जब पहिलो पटक आमा रुनुभयो । भिडियो कलमै आमामाथि आक्रमण भएकोे हामीले देख्यौँ । हामीलाई हरेक दिन बेचैन भइरहेको छ ।’
नवीन र मनिषाकी आमा खगिसरा सुनार
आमाको अवस्थाबारे आफन्तलाई जानकारी गराए पनि कसैबाट सहयोग नपाइएको नवीन सुनाउँछन् । आफन्तले पैसा खोजेर पठाउन भने पनि उद्धारमा लाग्ने पैसा सहयोग गर्न कोहि तयार नभएको उनले बताए । बहिनी मनिषा र दाजु नवीनका अनुसार आमा अहिले बिरामी परेकी छिन् । साहुले घरमा थुनेर राखेका छन् ।
दैलेखकै एक सुन पसलमा सामान्य ज्यालामा काम गर्ने नवीनले भाई र बहिनिको गुजारा चलाएका छन् । आमालाई उद्धार गर्न उनीहरुले सोधी खोजी गरेका थिए । एजेन्टले नेपाल फर्कीने भए ४ लाख रुपैयाँ भन्दा बढी रकम लाग्ने भनेका छन् । तर, आमाको उद्धारका लागि नवीनले ४ हजारसम्म पनि जुटाउन सकेका छैनन् । ‘आमा हररात रोएर नेपाल फर्काउन भनिरहनु भएको छ, हामीसंग यात्रो पैसा छैन कहाँबाट ल्याउने ?’ उनले भने ।
कुवेतमा रहेकी खगिसरका विषयमा सिधाकुराले कुवेतस्थित नेपाल दुतावास, गैर आवासिय नेपाली संघलाई जानकारी गराएको छ । कुवेतमा रहेका उमेश थापासहित नेपालीहरुले खगिसराको उद्धारका लागि पहल थालिएको जनाएका छन् ।