काठमाडाैँ । सत्तागठबन्धनमा आबद्ध दलहरुले आगामी राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चाले साझा विज्ञप्ती निकालेर अपील गरेका छन् ।
‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौ,’ अपिल पत्रमा भनिएको छ ।
त्यस्तै राष्ट्रियसभा निर्वाचनमा गठबन्धनलाई जिताएर गठबन्धनलाई थप बिलियो बनाउनुपर्ने उनीहरुको निष्कर्ष छ । ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो,’ अपिलमा भनिएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् ।