काठमाडाैँ । मध्य र पूर्वी अफ्रिकाको शहरी क्षेत्रहरूमा आक्रामक रुपमा फैलिइरहेको मङ्कीपक्स भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य आपतकाल भनेको छ । भाइरस सङ्क्रमणका कारण अफ्रिकी देश कङ्गोमा ४५० भन्दा बढीले ज्यान गुमाएको र भाइरसको फैलावट दर उच्च भएको भन्दै स्वास्थ्य आपतकाल घोषणापछि विश्वभर यो भाइरसको जोखिम र मानव स्वास्थ्य र जीवनमा पर्ने प्रतिकूलताबारे चासो र चर्चा गहिरिएको छ ।
भाइरसका कारण हुने मृत्युदर १० प्रतिशत रहेको अध्ययनले देखाएको र फैलावट उच्च रहेपछि संसारभर यसका लागि सतर्कता बढाइएको छ । तीब्र रुपमा सङ्क्रमण फैलिइरहेको दक्षिण अफ्रिकी मुलुककरुबाट नेपालमा पनि यो रोग भित्रिन सक्ने जोखिम कायमै छ । यही सेरोफेरोमा सिधाकुराका लागि लक्ष्मण गिरीले मङ्कीपक्स भाइरस के हो रु यो भाइरस नेपाल भित्रिन सम्भव छ की छैन रु र यसबाट बच्ने उपाय के हो भनी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनलाई प्रश्न गरेका छन् । डा। पुनसँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।
के हो एमपक्स अर्थात मङ्कीपक्स ?
एमपक्स जनावरबाट मानिसमा सरेको भाइरस हो । पहिले ‘रोडेन्ट्स’ अर्थात मुसा प्रजाति र ‘नन–ह्युमन प्राइमेट्स’ अर्थात बाँदर प्रजातिबाट यो भाइरस मानिसमा सरेको भएकाले यसलाई एमपक्स भाइरस भनिएको छ । पहिलोपटक सन् १९५० मा अफ्रिकामा एक बालकमा देखिएको यो भाइरस हालसम्म आइपुग्दा ११६ बढी देशमा पुगिसकेको छ ।
मध्य र पूर्वी अफ्रिकाको शहरी क्षेत्रहरूमा आक्रामक रुपमा फैलिइरहेको यो भाइरसका कारण अफ्रिकी देश कङ्गोमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् । यो भाइरसको मृत्युदर १० प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
यो भाइरस सन् २०२३ जुनमा नेपालमा पहिलोपटक देखा परेको थियो । तर, उक्त सङ्क्रमण नेपाली नागरिकमा नभएर विदेशी महिलामा देखिएको थियो । सो भाइरस अन्यत्र भने फैलिन पाएन ।
एमपक्स कसरी सर्छ ?
एमपक्स सर्ने मुख्य कारण भनेको नै शरीर शरीरबिच हुने सम्पर्क हो । त्यसका अलावा खोकी, हाछ्यूँ काढ्दा पनि एमपक्स सर्न सक्छ । यो सर्ने माध्यम एकदमै सजिलो छ ।
त्यस्तै सङ्क्रमितसँग चुम्बन गर्दा, यौन सम्पर्क गर्दा, सङ्क्रमितले प्रयोग गरेका सरसामान प्रयोग गर्दा पनि एमपक्स सर्छ ।
एमपक्सको लक्षणहरू के हुन् ?
चिकित्सकहरूका अनुसार एमपक्स भएका मानिसहरूमा पहिलो चरणमा रुघाखोकी लाग्ने, ज्वरो आउने, जीउ दुख्ने, शरीरका ग्रन्थिहरू सुनिने जस्ता लक्षण देखा पर्छन् । त्यसका अलाबा मानिसका शरीरहरूमा साना साना बिमिराहरू देखा पर्न थाल्छन् ।
एमपक्स भएका मानिसका शरीरमा देखा पर्ने बिमिरा फरक खालका हुने गर्छन । तिनीहरु उठेका नभएर फैलिएर आउने गर्छन् । त्यसपछि ति बिमिराहरू डल्लाडल्ला हुने गर्छन् । ति बिमिराहरू फुटेर जाने गर्छन् । ति बिमिरा फुटेको ठाउँमा छाला कक्रने गर्छ ।
अरु रोगभन्दा यो रोगको प्रकृति अलिक फरक छ । यो भाइरस सङ्क्रमण भएको २ देखि ४ हप्तामा आफैँ निको भएर जान्छ । भाइरल भएका कारण यसले शरीरका विभिन्न अंगहरुमा सङ्क्रमण गर्छ र बेलैमा उपचार नगरे मृत्यु पनि हुन सक्छ ।
बिमिरा आउँछ भन्दै गर्दा यो ठेउला जस्तै हो ? कसरी छुट्याउने ?
ठेउला र एमपक्स छुट्याउन त्यति सजिलो छैन, लगभग उस्ताउस्तै देखिन्छ । ठेउला स्कुले बालबालिकामा अलिक बढी देखिएको पाइन्छ तर एमपक्स अलिक बढी किशोरावस्था र युवावस्थाका व्यक्तिमा देखिन्छ किनकि उनीहरु यौन सम्पर्कमा धेरैजसो सहभागी हुन्छन् । यसरी पनि छुट्याउन सकिन्छ । यसको मतलव बच्चा र वृद्धमा हुँदै नहुने भने होइन् किनकि पहिलो केस नै संसारमा एक बालकमा देखिएको थियो ।
अर्को कुरा, यदि कोही व्यक्ति एमपक्स भएको ठाउँबाट आएको २१ दिनभित्र लक्षण देखियो भने त्यो एमपक्स भएको हुन सक्छ वा कुनै स्थानमा एमपक्स देखिएको छ र सोही ठाउँमा अन्यलाई ठेउलाजस्तै लक्षण देखिए पनि उसलाई एमपक्स भएको हुन सक्छ ।
एमपक्सको उपचार पद्धति के हो ?
एमपक्स भएका बिरामीलाई सपोर्टिभ ट्रिटमेन्ट अर्थात सहायक उपचार गरिन्छ । त्यसको उपचार लक्षणमा आधारित भएर गरिने डाक्टरहरु बताउँछन् ।
यसका लागि नै भनेर खोप बनेको छैन तर स्मल पक्स र यसको प्रकृति उस्ताउस्तै भएका कारण स्मल पक्सकै खोप लगाउने गरिन्छ । लक्षण देखिएको ४ दिनभित्र र लक्षण नै नदेखिएपनि १४ दिनभित्र सो खोप लगायो भने यसको उपचार प्रभावकारी हुन्छ । सो खोप करिब ८५ प्रतिशत प्रभावकारी छ भनिएको छ ।
मङ्कीपक्सले कोरोना जस्तै महामारी ल्याउने सम्भावना कति छ ?
भाइरल, इन्फेक्सन स्वास्थ्यको अध्ययन गर्नेका लागि, अनुसन्धान गर्नेहरुका लागि सँधै चिन्ताको विषय नै हुन्छ । यसले पहिलो जुन जुन देशमा देखिएको थियो त्यसको सिमा पार गर्दै अन्य देशमा पनि गएपछि यसलाई बढी चासोका रुपमा हेरिएको हो । त्यसमाथि पनि डब्ल्यूएचओले यसलाई खतरा भनेर सचेत गराएको अवस्था छ ।
त्यति हुँदाहुँदै अहिलेसम्मको अवस्था मुल्याङ्कन गर्दा यो त्यति हदसम्म घातक भन्ने त आएको छैन तर यही रोगले गर्दा स्वास्थ्यमा विभिन्न समस्या ल्याउने गर्छ ।
त्यस्तै, यो रोग सर्ने माध्यम एकदमै सजिलो छ । अहिले नै आत्तिहाल्नु पर्ने भन्ने छैन् तर यसलाई बेलैमा ध्यान दिइएन र सचेत भइएन भने घातक हुने पो हो कि भन्ने जोखिम भने छ ।
नेपालमा एमपक्स फैलिने जोखिम कत्तिको छ ?
नेपाल एक खुल्ला बोर्डर भएको देश हो । त्यसैले स्वभावैले सरुवा रोग छिटो सर्ने सम्भावना हुन्छ । तर, हाम्रा छिमेकी मुलुकमा पनि त्यसको सङ्क्रमण भएको अवस्था छैन ।
त्यस्तै नेपाल र भारतजस्तो देशमा यसको संक्रमणमा अलिक नहोला कि भन्ने लाग्छ, किनकि हामीजस्तो संस्कार मान्ने देशमा यौन सम्पर्क सामान्य भइहालेको छैन । त्यस्तै यो २ देखि ४ हप्तामा आफैँ निको भएर जाने भएकाले फैलिन पाउँदैन कि भन्ने हो ।