१७ भदौ, काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सबिना काफ्लेलाई शनिबार राति ट्राफिक प्रहरीले गरेको व्यवहार खेदजनक रहेको भन्दै बालेनको सचिवालयले विज्ञप्ती सार्वजनिक गरेको छ ।
प्रसव पीडा र शारीरिक समस्यामा रहेकी एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित बनेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको व्यवहार असभ्य, निन्दनीय तथा खेदजनक रहेको विज्ञप्तिमा जनाइएको छ । ‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।’ विज्ञप्तीमा भनिएको छ ।
शनिबार राति बालेन शाहले लेखेको फेसबुक स्टाटसपछि आएका अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।