शनिबार बिहानै प्यालेस्टाइनको हमास समुह (जसले इजरायललाई इस्लामिक राज्य बनाउन चाहन्छ) ले इजरायलमा रकेट बम हानेका समाचार सञ्जालभरि फैलिए । जहाँ कृषिको अध्ययन तथा रोजगारी र घरेलु कामदारका रुपमा नेपालबाट करिब ५ हजार विद्यार्थी तथा श्रमिक इजरायल पुगेका छन् ।
प्यालेस्टाइनको गाजा क्षेत्रबाट बम आक्रमण भएको विषय धेरैका लागि समाचार मात्रै थियो तर इजरायलमा छोराछोरी तथा आफन्त भएकाहरू लागि भयानक संकेत थियो ।
विशेषगरी प्रयोगात्मक सिकाई सँगै कमाइ गर्ने अवसर खोज्दै त्रिभुवन विश्वविद्यालय, रामपुर कृषि क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू इजरायल पुगेका थिए । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू गाजा क्षेत्रबाट नजिक रहेको इजरायलका फार्म हाउसहरुमा पुगेका थिए ।
शनिबारको आक्रमण पछि इजरायलमा छोराछोरी र आफन्त भएकाहरूले सम्पर्क गर्न प्रयास गरिरहेका थिए । अधिकांश सम्पर्क आएका थिएनन् । सम्पर्कमा आएकाहरूको अवस्था भयानक थियो । कोही घाइते भएर अस्पतालमा छटपटाइ रहेका थिए, कोही बङ्करबाट गुहार मागिरहेका थिए ।
आइतबार साँझ इजरायलस्थित नेपाली दुतावासले गाजा नजिकै रहेको सेदोत नेगेभको किवुज अलुमिनमा रहेको १७ नेपाली मध्ये १० जनाको ज्यान गएको खबर नेपाल पठायो ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको अन्तिम वर्ष अध्ययन गरिरहेका ४९ जना विद्यार्थी ६ समुहमा विभाजित भएर इजरायलका विभिन्न कृषि केन्द्रमा काम गरिरहेका थिए । जसमध्ये एकै ठाउँमा बसेका १० जनाले ज्यान गुमाए ।
शनिबार बिहान कञ्चनपुरका विपिन जोशी सहित १७ जना बसेको कोठामा ग्रिनेट छिरेको थियो । पहिलो पटक उनले हातले टिपेर फ्याँके । दोस्रो पटक आएको ग्रिनेट कोठा भित्रै पड्कियो । ग्रिनेट पड्किएर भएका ५ जना घाइतेमध्ये ४ जना अस्पताल पुग्न भ्याए । जसमध्ये एक जना सहित अन्य अर्को बङ्करमा बसेका थिए । बङ्करमाथि जमिनमा एम्बुलेन्सको आवाज सुनेर बाहिर निस्किएका कैलालीका नारायण न्यौपानेलाई हमासले झुक्यायो। एम्बुलेन्स भनेर बाहिर निस्किंदा हमासको लडाकु ट्रक रहेछ, उनीहरूले नारायणलाई गोली हाने । त्यसपछि बङ्करमा छिरेर अन्य नेपालीलाई गोली बर्साए ।
अर्को क्याम्पमा रहेका लुइस रिजालका अनुसार घाइते उनीहरूको ३ घण्टासम्म पनि उद्धार भएन ।
यसरी उद्धार नहुँदा ज्यान गुमाउनेमा बझाङ जयपृथ्वी नगरपालिका ११ का गणेशकुमार नेपाली, डोटीका पदम थापा, शारद ३ सल्यानका प्रवेश भण्डारी, मधुवन १ सुनसरीका राजेशकुमार स्वर्णकार, पचनली ३ डोटीका राजन फुलारा, मालिकार्जुन ४ दार्चुलाका लोकेन्द्र सिंह धामी, लेकम ५ का दिपेशराज विष्ट, घोडाघोडी ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जोशीपुर कैलालीका आशिष चौधरी र सपही ६ धनुषाका आनन्द साह छन् । उनीहरू सबै सुदूरपश्चिम विश्वविद्यालयमा कृषि सङ्कायको आठौँ समेष्टरका विद्यार्थी थिए । उनीहरू इजरायल पुगेको एक महिना पनि पुगेको छैन ।
गणेशकुमार नेपाली
सिधाकुरा टिम जयपृथ्वीबहादुर नगरपालिका ११ चैनपुर डाडाँ गाउँमा पुग्दा इजरायलमा प्यालेस्टाइनका हमासले हानेको रकेट बमको पिरो धनलाल नेपालीको घर परिवारमा पोखिएको थियो । बाबु धनलालले सिलाइकटाइ गरेर प्लस टुसम्म पढाएका गणेश नेपाली सुदूरपश्चिम विश्वविद्यालयबाट सिक्दै कमाउँदै गर्ने योजना अनुसार ३ लाख ऋण खोजेर भदौ २५ गते इजरायल पुगेका थिए । शुक्रबार गणेशले बाबु आमालाई फोन गरेर चर्किएको घरमा बस्दा ख्याल राख्नु भनेका थिए । तर शनिबार बिहान गणेश आक्रमणकारीको निसानामा परिसकेका रहेछन् ।
सानैदेखि जेहेन्दार गणेश पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत कुशल थिए ।
गाउँकै विद्यालयबाट एसएलसी सकेर चितवन आएका गणेशले २०७३ सालमा प्रेरणा साइन्स कलेजबाट प्लस टु पास गरेका थिए । कृषिमा लगाव भएका गणेश प्लस टु पछि सुदूरपश्चिम विश्वविद्यालयमा कृषि तथा विज्ञान सङ्कायमा अध्ययन गर्न थाले । सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान सङ्कायको आठौं सेमेस्टरका विद्यार्थी गणेश अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका सचिव समेत थिए । इजरायलमा ११ महिनामा कृषिको सिप सँगै कमाइ पनि गरेर स्वदेश फर्किने र स्वदेशमा केही गर्ने सपना बोकेर इजरायल पुगेका गणेशको सपना इजरायलमै विलीन भयो ।
छोरा फर्किने बाटो हेरिरहेका बाबुआमा गणेशको मृत्युको खबर विश्वास गर्न सकिरहेका छैन
पदम थापा, डोटी
इजरायलमा बमबारी भइरहेको समाचारले सञ्जाल भरिएका बेला डोटीको आदर्श गाउँपालिका ( ५ का पदम थापाले उनकी भाउजूको म्यासेन्जरमा एउटा म्यासेज पठाए । १ बजेर ४५ मिनेट जाँदा आएको म्यासेजमा उनले दुई शब्दले लेखेका थिए, म मरेँ ।
शायद अन्तिम अवस्थामा पुगेपछि परिवारका लागि पदमले अन्तिम खबर पठाए थिए । त्यो म्यासेजसँगै उता पदम ढले, यता परिवारको खम्बा ढल्यो । परिवारले त्यसलगत्तै हजारौँ पटक सम्पर्कको प्रयास गरे तर पदमको फोन लागेन, म्यासेज सीन भएन । अफलाइन देखिएका पदम अनलाइन नआउँदै दुतावासले हमासको आक्रमणमा परि ज्यान गुमाउने सुचीमा पदमको नाम सार्वजनिक गर्यो । पदमका दाइ भीम थापाका अनुसार पदमको मृत्युको खबर बाबु टीकाराम थापालाई सुनाउन सकिएको थिएन, अपहरणमा परेको भन्दा नै उनी बेहोस भएर दिपायल अस्पताल पुर्याइएको थियो । घरको सबैको प्रिय पदमको शव सरकारले छिटो ल्याइदियोस्, परिवारको चाहना छ।
प्रवेश भण्डारी, सल्यान
सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका सल्यानका २४ वर्षीय प्रवेश भण्डारी घरका एक्ला छोरा थिए । भदौ २० गते घरबाट इजरायलका लागि निस्केका प्रवेश २५ गते उडेका थिए । इजरायल पुगेपछि पनि बाबु चक्रबहादुर भण्डारी र आमा चन्द्रिका भण्डारीसँग निरन्तर कुराकानी गरिरहेको प्रवेश २० गते भने सम्पर्कमा आएनन् । केही समय पछि हमासको आक्रमणमा प्रवेशको ज्यान गएको भन्दै दुतावासले सूचना जारी गर्यो । यतिबेला प्रवेशको मृत्युको खबर सुनेर आमा अर्धचेत अवस्थामा छिन् । गाउँ शोकमग्न छ ।
चक्रबहादुर छोराको ति बोली सम्झिरहेका छन्, उनले भनेका थिए ‘‘बा–आमा तपाईंले मेरो लागी कुनै चिन्ता लिनु पर्दैन । म पढाइ सकेर केही महिनामै फर्कन्छु र जागिर खाएर तपाईँहरूलाई राम्रो घर बनाएर राख्छु । कत्ति आत्तिनु पर्दैन’ अब ति सपना कसले पुरा गर्ला, चक्रबहादुर बिलौना गर्छन् ।
प्रवेशसँगै इजरायल पुगेका शारदा नगरपालिका २ का विधान सेजवाल घाइते छन् भने त्रिवेणी गाउँपालिका १ का प्रमोद केसी सुरक्षित छन् ।
लोकेन्द्र सिंह धामी, दार्चुला
दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भयो । गाउँमै कक्षा १२ सम्म अध्ययन गरेका लोकेन्द्र बिएस्सी(एजी पढ्न टीकापुर झरेका थिए । सुदूरपश्चिम विश्वविद्यालयमा बिएस्सी(एजीको आँठो सेमेस्टर सकेर खाली भएको ११ महिनामा कमाउँदै सिक्दै गर्न एक महिना अघि मात्रै इजरायल पुगेका थिए । विवाहित लोकेन्द्रकी श्रीमती सहित ४ वर्षकी छोरी र डेढ वर्षका छोरा छन् ।
दिपेशराज बिष्ट, दार्चुला
सानै उमेरमा बाबु गुमाएका लेकम ५ का दिपेशराज विष्टले २४ वर्षको उमेरमा इजरायलको माटोमा अन्तिम श्वास फेरे । २० वर्ष अघिनै श्रीमानको निधनपछि राहत कोटामा अध्यापन गराउँदै आएकी आमा पार्वती विष्टले दुख गरेर २ छोरा हुर्काएकी थिइन् ।
घरको जेठो छोरा दिपेशलाई राम्रो पढाउनका लागि उनले धनगढी पठाएकी थिइन्प । ढाइमा तेज दिपेशले धनगढीको रेडियन्ट कलेजबाट प्लस टु पास गरेपछि टिकापुरमा विएस्सी(एजी गरिरहेका थिए । कृषि सङ्कायको आठौँ सेमेस्टर सकेर घरलाई आर्थिक रुपमा केही सहज गराउन दिपेश इजरायल हानिएका थिए । असोज २ गतेबाट काम सुरु गरेका दिपेशले अब घरमा सुख आउने बताउँथे तर विडम्बना दिपेश हमासको आक्रमणमा मारिए । चाडपर्वको मुखमा घरको जेठो छोराको मृत्यु खबरले दिपेशकी आमा पार्वती विष्ट अचेत छिन् । दार्चुलाबाट महेन्द्रनगर जान भनेर हिँडेकी विष्टकी आमा छोराको मृत्युको खबरले गोकुलेश्वरमा बेहोस भएर ढलेकी थिइन् ।
आनन्द साह, धनुषा
‘मेरो जीवनमा १ करोड रूख रोप्नु छ । अक्सिजनको प्लान्टसँगै सुविधासम्पन्न अस्पताल खोल्नु छु, जहाँ कसैलाई भेदभाव हुने छैन ।’ यो धनुषा लक्ष्मीनियाँ –४ सपहीका २५ वर्षीय आनन्द साहले गरेको प्रण थियो । जुन आज पनि उनको फेसबुक पेजको कभर फोटोमा सुरक्षित छ । विडम्बना आनन्दको यो प्रण, उनीसँगै इजरायलमा हमासले ध्वस्त पार्यो ।
कृषि र प्रकृतिमा भविष्य देखेर सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायमा पढ्दै भदौ २८ गते इजरायल पुगेका आनन्द साह प्यालेस्टाइनी आतङ्कवादी समूह हमासको आक्रमण मारिए ।
शुक्रबार राति धेरै बेर परिवारका सदस्यसँग भिडियो कल गरेका आनन्दको शनिबारबाट फोन उठ्नै छोड्यो, म्यासेज सीन हुनै छोड्यो, उता आनन्द कहिल्यै अनलाइन नआउने गरि अस्ताइसकेका रहेछन् ।
घरको एउटा छोरा, ३ बहिनीका एउटा दाइ सबैका प्रिय थिए, आनन्द । तर उनै आनन्द संसारबाट विलय भएपछि अहिले आनन्दका परिवार विक्षिप्त छन् । आइतबार साँझ हमासको आक्रमणमा परि ज्यान गुमाउने नेपालीको सूचीमा आनन्दको नाम देखेपछि बाबु मुर्छित छन् ।
बाबुसँगै ७० वर्षीया हजुरआमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वतीको हाल उस्तै छ । जम्मा भएका छिमेकी सबैका आँखाभरि आँशु छन् ।
मुर्छित बाबुआमा छाती पिटेर रोहिहेका छन्, अब कसलाई छोरा भनुँ ?
नारायणप्रसाद न्यौपाने , कैलाली
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्नातक तहमा अध्ययनरत कैलालीका नारायण प्रसाद न्यौपाने भदौ २५ गते विश्वविद्यालयबाटै इजरायल पुगेका थिए ।
४ दिन अघि बाबुसँग फोनमा कुरा गर्दै घरमा वाइवाईको पैसा रिचार्ज गरिदिएर फोन राखेका थिए नारायणले । त्यसपछि भने उनको फोन आएन, बरु उनी हमास समूहको आक्रमणमा परेको खबर आयो । इजरायलस्थित नेपाली दुतावासले हमासको आक्रमणमा परि मृत्यु हुनेको सूचीमा उनको नाम पनि सार्वजनिक गर्यो ।
उक्त समाचारले न्यौपाने परिवार अहिले विक्षिप्त छन् । छोराको निधनको पीडाले आइतबार साँझदेखि नारायणका बाबुले पानी समेत पिएका छैनन् ।
अहिले पनि नारायणको मृत्यु भयो होला भन्ने स्वीकार गर्न परिवारले सकिरहेको छैन । “कतैबाट कसैले यो खबर असत्य हो भनिदिनोस्” नारायणका बुबा प्रार्थना गर्दै थिए । नारायण सानै हुँदा आमाको निधन भएपछि बाबुले तीन छोरा हुर्काए ।
छरछिमेकीहरू अहिले नारायणको परिवारलाई सम्झाउन सकिरहेका छैनन् । उनीहरु भन्छन् “सरकारले ज्युँदो ल्याउन नसकेपनि मृत शरीर छिट्टै ल्याइदियोस्” ।
आशिष चौधरी, कैलाली
कैलालीको जोशीपुर ५ का आशिष चौधरीको घरमा अहिले ताला लागेको छ । इजरायलमा भएको हमलामा परेर मृत्यु भएका आशिषका बाबुआमा भारतको बैङ्ग्लोरमा बस्छन् । सोमबार दिउँसोसम्म उनीहरूले छोराको मृत्युको भएको खबर पाएका थिएनन् । जोशीपुरमा बजारमा पसल चलाउँदै आएका आशिषका बाबुआमा, पसलको कमाइले ऋण तिर्न र आशिषलाई पढाउन ग्राहो भएपछि भारत लागेका थिए, आशिष टिकापुरमा डेरा गरी बस्थे । इजरायल गएपछि पढाइसँगै कमाइ हुने र ऋण तिर्न सहज हुने आशा आशिषसँगै सबै परिवारको थियो तर आशा एक महिना नपुग्दै हमासले फ्याँकेको ग्रिनेटसँग उजाडिएको छ ।
राजन फुलारा, डोटी
२३ वर्षका राजन फुलारा वृद्ध बाबुआमाका एक्ला छोरा हुन् । दुई दिदीको विवाहपछि घरको सबै जिम्मेवारी उनको काँधमा थियो । अहिले घरमा वृद्ध हजुरआमा र वृद्ध भैसकेका बाबुआमा राजनलाई कुरिरहेका थिए । टीकापुरको कृषि क्याम्पसमा अध्ययन गरिरहेका राजन इजरायल जाँदा परिवारमा खुशी छाएको थियो तर एक महिना नपुग्दै परिवारको सहार गुमेको छ, अहिले निरुपाय भएर छोराको शव कुरिरहेका छन् ।
राजेशकुमार स्वर्णकार,सुनसरी
सुनसरीका २३ वर्षीय राजेशकुमार स्वर्णकार इजरायलबाट फर्किएर बिहे गर्ने सोचमा रहेको परिवारलाई बताउँथे ।
शुक्रबार मात्रै उनले परिवारका सबै सदस्यसँग भिडियो कलमा कुरा गरेका थिए । तर शनिबार सबेरै हमासको आक्रमण परे । छोराको मृत्युको खबरले परिवार विक्षिप्त छन् । कल्पनानै नगरेको दशा भोगेको परिवारले छोराको शव पर्खिरहेका छन् ।
नेपाल र इजरायलबीच केयर गिभरका रुपमा नेपाली नर्सिङ जनशक्तिलाई लैजाने गरी २०७४ असोजमा श्रम सम्झौता भएको थियो । त्यसैका आधारमा अहिले पनि ४ हजार ५ सय ‘केयर गिभर’ इजरायलमा छन् ।
सोही समयमा इजरायली कृषि प्रविधि भित्राउन इजरायलको प्राविधिक सहयोगमा ७ वटै प्रदेशमा एग्रिकल्चरल सेन्टर अफ एक्सिलिजेन्स खोल्ने समझदारी भएपनि नेपाल सरकारले वेवास्ता गर्यो, बरु विद्यार्थीलाई नै इजरायल पठाउन थाल्यो । यसका लागि नेपालस्थित इजरायली दुतावासले समन्वय गर्छ ।
सरकारी तथ्यांक अनुसार कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत २ सय ६८ जना विद्यार्थी इजरायल पुगेका छन् । जसमध्ये सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक ४९ जना विद्यार्थी ुसेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’मा पठाइएको थियो । उक्त सेन्टरले ४९ जना मध्ये १७ जनालाई एलुमिन फार्ममा पठाएको थियो । यो फार्म हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रसँगै जोडिएको ठाउँमा अवस्थित थियो । जहाँ हमासले सुरुमै आक्रमण गरेको थिए ।
अहिले सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहित त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान सङ्कायका ९७ जना र कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका ११९ जना विद्यार्थी इजरायलमा छन् ।
कृषि तथा वन विश्वविद्यालय रामपुरले इजरायलको सरकारी तालिम केन्द्र ‘रमाद नेगव इन्टरनेशनल ट्रेनिङ सेन्टर फर एडभान्स एग्रिकल्चर’ सँग सम्झौता गरेर दुई पटक विद्यार्थी पठाएको थियो ।
त्रिभुवन विश्वविद्यालयले पनि ‘सेडट नेगेव एग्रिकल्चर ट्रेनिङ सेन्टर’ सँग सम्झौता गरेर विद्यार्थी पठाएको हो ।
अहिले वैधानिक रुपमा विद्यार्थी बाहेक ४५ सय नेपालीहरू केयर गिभरका रुपमा इजरायलमा छन्, इजरायल स्थित नेपाल दुतावासका अनुसार केयर गिभर घर भित्रै हुने भएकाले सुरक्षित छन् । अहिले अन्य जोखिम क्षेत्रका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको नेपाल सरकारले जनाएको छ ।