काठमाडौँ । २०७९ चैत १० गते तत्कालिन प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहले ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अवकाश पाउँदै थिए । सो समयको बहस देशले नयाँ प्रहरी महानिरिक्षक को पाउँछ भन्नेमा भन्दा पनि पहिलो पटक महिला प्रहरी प्रमुख बन्ने संभावनामा केन्द्रित थियो । देशमा पहिलो पटक महिला प्रहरी महानिरिक्षकको दावेदारीमा थिइन् किरण बज्राचार्य ।
सिंहले अवकास पाउने २ दिनअघि अर्थात चैत ८ गते वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई सरकारले डिआईजीबाट एआईजीमा बढुवा गरेको थियो । बज्राचार्य एआईजी बढुवाको पाँचौ नम्बरमा थिइन् । तर प्रहरी नियमावली, २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, नेतृत्व वहन गर्ने क्षमता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले उपयुक्त ठानेको जोसुकै एआईजीबाट आईजीपी नियुक्त गर्न सक्ने व्यवस्था रहेकाले बज्राचार्य पनि आइजिपीको दावेदार थिइन् । तर, बज्राचार्य प्रहरी प्रमुख बनिनन् । बसन्त बहादुर कुँवर प्रहरी महानिरिक्षक बने ।
त्यसपछि सरकारले एआईजी बज्राचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गर्न पठायो । देशभर हुने ठूला तथा जघन्य अपराध, संगठित अपराधको अनुसन्धान सीआईबीले गर्ने गरेको छ । अपराध अनुसन्धानको सर्वोच्च निकाय मानिने सीआईबीले पहिलो पटक महिला नेतृत्व पायो । अपराध अनुसन्धानमा आफूलाई धेरै पटक प्रमाणित गरिसकेकी बज्राचार्यको नेतृत्वमा सीआईबीको उचाई थप बढ्ने आँकलन गरिएको थियो ।
सीआईबीको नेतृत्व सम्हालेको चौथो महिनामै उनलाई सम्भवत नेपालको यो दशककै सबैभन्दा ठूलो आर्थिक अपराधको रुपमा रहेको विमानस्थल भन्सार भएर हुने सुन तस्करी अपराध नियन्त्रणको जिम्मेवारी स प्रमाण प्राप्त भयो । बि.स. २०८० साउन २१ गते प्राप्त अनुसन्धान फाइल निश्पक्ष रुपमा केलाएको भए किरण बज्राचार्य नाम मात्रै होइन आम जनता, प्रहरी संगठन र स्वयम् उनकै प्रतिष्ठा र गौरवसँग गाँसिने थियो । किनकी सुन अनुसन्धानका जानकारहरु भन्छन् ‘सुन तस्कारीको अभियोगमा पूर्वसभामुख, पूर्व प्रहरी उच्च अधिकारी, सरकारी निजामतिका प्रथम श्रेणी अधिकृतदेखि परिआए बहालवाला मन्त्री र त्यो भन्दा माथिका सयौं मान्छेलाई एआइजी किरणले हत्ककडी लगाउन सक्ने थिइन् । तर, उनी कुन दबाब र प्रभावमा परिन् आफ्नो अनुसन्धान कलामा त गलिन् नै, प्रहरीको बर्दीमै सुन तस्कर जोगाएको दाग लाग्यो ।
पाल्पाकी बज्राचार्यले २०५२ सालबाट प्रहरी निरिक्षक पदबाट सेवा सुुरु गरेकी थिइन् । उनले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस्तै डिआईजी हुँदा उनी बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारीमा थिइन् । उनले त्यसअघि नै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगायत ठाउँमा बसेर काम गरेकी थिइन् ।
२०७५ सालमा अमेरिकी विदेश मन्त्रालयले बज्राचार्यलाई मानव बेचबिखन विरुद्धको वर्ष हिरो घोषणा गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध चलाएको जनचेतनामूलक अभियानको प्रशंसा गर्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले वर्ष हिरो घोषणा गरेको थियो ।
तर, बज्राचार्य सीआईबीमा आफ्नो उपस्थिती प्रमाणित गर्न नराम्रोसँग चुकिन् । ६१ किलो सुन प्रकरणमा उनको भूमिकाका कारण सीआईबीकै छबिमा समेत दाग लागेको छ । ठूला र संगठित अपराधमा सीआईबी पस्नेबित्तिकै कोही अपराधीले सजाय पाउनेमा आम नागरिक निर्धक्क हुन्छन् । त्यसकारण नागरिकहरुले आपराधिक घटनामा सीआईबीले अनुसन्धान गर्नुपर्ने माग राख्ने गर्छन् । तर, सुन प्रकरणमा सीआईबीमा रहेर बज्राचार्यको टीमले गरेको अनुसन्धान इतिहासकै खल्लो भएको छ ।
६१ किलो सुन तस्करी प्रकरणलाई पनि राजश्व अनुुसन्धान विभागबाट गैरकानुनी तरिकाले प्रहरीलाई बुुझाउँदा नागरिकस्तरबाट बिरोध नहुनुको कारण थियो सीआईबी र सीआईबी नेतृत्वप्रतिको विश्वास । तर सीआईबी र सीआईबी नेतृत्वबाट सो भावना अनुरुप काम भएन । उक्त सुन प्रकरणमा सीआईबीले आधा अधुरो प्रतिवेदन त बुझायो तर राजश्व अनुसन्धान विभागले पक्राउ गर्न सुझाएका व्यक्तिहरुलाई उल्टो जोगाउने काम भयो । पूर्व न्यायाधिश डिल्लीराम आचार्यको नेतृत्वमा सरकारले गठन गरेको सुन तस्करी सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले संदिग्धहरुलाई जोगाउन सीआईबी नेतृत्वकै हात रहेको उल्लेख गरेको छ । सोही कारण उनलाई सीआईबी नेतृत्वबाट हटाइएको छ ।
उनले प्रमाण नष्ट गरेको, आरोपीहरु भगाएको देखिएकोले विभागीय कारबाहीको लागि आयोगले सिफारिस गरेको थियो । सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुखहरुलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राजश्व अनुसन्धान विभागले नेपाल प्रहरी मूख्यालयमा २३ साउनमा बुझाएको सुन अनुसन्धानको फाइलमा एउटा जिपिएस लोकेसन प्रणालीको लग इन यूजर र पासवर्ड पनि थियो । सुन तस्कर समूहले टोखाको फ्याक्ट्रीमा गालेको सुनको डेलिभरीदेखि कच्चा सुन ओसार पसार गर्ने र त्यसको सबै रकम आदान प्रदान गर्नेहरुँंग भेट गर्ने निश्चित भाडाका कारहरु थिए । ति कार काठमाडौँको एक कार रेन्टलबाट चिनियाँले भाडामा लिएका थिए । चिनियाँहरु विश्वसनीय नहुने भन्दै कार भाडामा लगाउने कम्पनीले जिपिएस ट्र्याकिङ प्रणाली कारमा जडान गरेका थिए ।
राजश्वले बरामद गरेको सो प्रणाली सुन तस्करी अनुसन्धानका लागि यस्तो सेतु थियो कि सुन तस्करीमा संलग्न कोही पनि अनुसन्धानबाट बञ्चित नहुने अवस्था थियो । तर,यही प्रमाणलाई लुकाएर नेपाल प्रहरीको सबै भन्दा ठूलो अनुसन्धानकारी विभागले आम जनतामा भ्रमपूर्ण अनुसन्धान गरेर मुद्दा अभियोजन ग¥यो । सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगका अनुसार ११ सय वटा यस्ता जीपीएस लोकेसन र व्यक्ति ट्रयाक भएका लाईभ विवरण सीआईबीले प्रमाणको रुपमा पाएको थियो ।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेका अनुसार राज्यका जिम्मेवार भूमिकामा बसेका व्यक्तिले तस्करीलाई संरक्षण गर्न खोजेको समेत भेटिएको छ ।
सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा सीआईबीका अन्य केही अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ ।
गत साउन २ गते त्रिभुुवन विमास्थल भन्सारबाट पास भईसकेपछि राजश्व अनुसन्धान विभागको टोलीले ब्रेक शू सहितको सुन बरामद गरेका थिए । पछि पगाल्दा ब्रे शूमा ६१ किलो सुन भएको पुष्टि भएको थियो । विभागले १७ दिन अनुसन्धान गरिसकेको विषय तत्कालिन गृहमन्त्री नारायाणकाजी श्रेष्ठले विभागबाट खोसेर गैरकानुनी रुपमा सीआईबीलाई दिएका थिए ।
तत्कालिन गृहमन्त्री श्रेष्ठले अनुसन्धान प्रहरीलाई दिनुको उद्देश्य थियो आफ्नालाई जोगाउने । सुन तस्करी माओवादी नेता र उनीहरुकै आसपासमा चलेको पछिल्ला प्रमाणहरुले पुष्टि गरिसकेका छन् ।
तर, सीआईबी प्रमुखसँग सीआईबीको साख जोगाउने ठूलो अवसर थियो । तर उनले त्यसो गरिनन् वा गर्न सकिनन् । किरण वज्राचार्यले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजनीति र आसेपासे जोगाउन गरेको गैरव्यवसयिक क्रियाकलापले सीआईबीको छबी बिग्रियो ।
भलै यि सबै आरोप पखाल्न सक्ने ठाउँमा एआईजी किरण अझै छिन् । आफैँ कुनै प्रभाव र दबाबमा परिन् वा उनलाई कसैले यो सबै गर्न बाध्य बनायो उनले ढिलो चाँडो मुख खोल्नेछिन् भन्नेमा जनताले अन्तिम अपेक्षा राखेका छन् । आफ्नो बेदाग छबि मेट्न, जनताले प्रहरीको क्षमतामाथि गरेको प्रश्नको जवाफ दिन र उनकै संगठनका भावि पुस्ताको मनोबल उकास्न पनि किरणले नयाँ र बोल्ड गृमहन्त्री भएको बेला मुख खोल्नेछिन् भन्ने अनुमान गर्न अझै ढिलाई भएको छैन ।