काठमाडौँ । सुन तस्करीका नाइके बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नागरिकता दिने निजामति सेवाका एक अधिकृत पक्राउ परेका छन् ।
विदेशी नागरिकलाई वंशजका आधारमा नागरिकता दिलाएका काभ्रे जिल्ला प्रशासनका तत्कालीन नायब सुब्बा रामचन्द्र अर्याल (हाल अधिकृत) पक्राउ परेका हुन् ।
हेटौंडा स्थित बागमती प्रदेशसभा सचिवालयमा कार्यरत अर्याललाई पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको मकवानपुर प्रहरी प्रमुख लक्ष्मी भण्डारीले जनाकारी दिए । ।
दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई नासु अर्याल सहित तत्कालीन अधिकृत झपेन्द्रराज खरेलले वंशजको नागरिकता दिलाएका थिए ।
अर्याल पक्राउ परे पनि अधिकृत झपेन्द्र खरेल भने बिरामी भएकाले उपचारका लागि भन्दै भारत पुगेका छन् । काभ्रे प्रहरी प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उनको पनि खोजी कार्य जारी रहेको छ ।
बाबुको विवरण र वडा अध्यक्षको समेत फर्जी सिफारीस बनाएर काभ्रे प्रशासनकै मिलेमतोमा दावा र वाङले वंशजको नागरिकता पाएका थिए ।
सिधाकुराको 'द सेक्रे्रट्स अफ गोल्ड माफिया' सिरिजले नासु अर्याल र अधिकृत खरेलले नागरिकता होम डेलिभरी गरिदिएको खुलासा गरेको थियो ।
विदेशी दावालाई नेपाली वंशज नागरिकता ‘होम डेलिभरी’ ! फर्जी विवरण झपेन्द्रद्वारा प्रमाणिकरण