काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचन, २०८१ प्रारम्भिक निर्वाचनको मिति तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रारम्भिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
उक्त कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि २०८१ कात्तिक २२ देखि २५ गते, दिउँसो २ः०० बजे सम्मको समय तोकिएको छ । २०८१ कात्तिक २५ गते, साँझ ८ः०० बजे सम्म प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तथा २०८१ कात्तिक २८ गते, साँझ ७ः०० बजे सम्म मतदान हुने बताइएको छ । जसको नतिजा २०८१ कात्तिक २९ गते, दिउँसो १ः०० बजे पार्टीले जनाएको छ ।
पार्टीले प्रारम्भिक निर्वाचनमा उम्मेदवारीका लागि आवेदन दिन गुगल फाराम सार्वजनिक गरेको छ भने निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भरेर पनि उम्मेदवारी दिन सकिने बताएको छ ।
त्यस्तै उक्त बैठकले सातै प्रदेशमा नेताहरुको जिम्मेवारी तोकेको छ । बैठकले कोशी प्रदेशमा निशा डाँगी, मधेश प्रदेशमा डा. चन्दा कार्की, बागमतिमा शिशिर खनाल, गण्डकी विन्दवासिनी कांसकार, लुम्बिनी कुसुम महर्जन, कर्णाली लिमा अधिकारी र सुदुरपश्चिम विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
आगामी मंसिर १६ मंसिरमा देशभरका ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।